
इलाम: परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरुका प्रतिनिधि तथा राजदूतहरुका लागि आयोजना गरिएको रिट्रिट कार्यक्रम अन्तर्गत आइतबार इलामको कन्याममा कूटनीतिज्ञहरु रमाएका थिए ।
उनीहरुले कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग तस्बिर लिनुका साथै विभिन्न जातजातिका भेषभूषामा सजिएका थिए । साथै कतिपय राजदूतहरु कन्यामका विभिन्न स्थानमा घोडचडीमा पुगेर रमाएका थिए । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं मिसन प्रतिनिधिहरु रहेका छन् ।
केही समय कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गरिरहेका उनीहरुले त्यसलगत्तै घोडामा चढेर कन्यामको परिक्रमा गरेका थिए । नयाँ बर्षको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाको समेत सहआयोजनामा नेपाल स्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिका लागि यो कार्यक्रमको आयोजना गरेको छ ।
खासगरी नेपालको पर्यटन प्रवर्धनका लागि इलामको विशेषता यहाँको स्थानियताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
आज र भोलिसम्मका लागि आयोजना गरिएको यो कार्यक्रममा परराष्ट्रमन्त्री डा राणा र परराष्ट्र सचिव अमृत बहादुर राई लगायत सहभागी हुनुभएको परराष्ट्रमन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।