१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
अ अ+ अ-

दमौली । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो ।

‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको बताउनुभयो ।

यसअघि दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पछिल्लो दुई दिनयता आगन्तुकको सङ्ख्या बढेर दैनिक दुई हजार पुगेको उहाँले जानकारी दिनुभयो । “दुई हजार जनाले बास बस्नेसक्ने क्षमता यहाँका होटलको छ । तर, पछिल्लो दुई दिनदेखि यहाँका सबै होटल भरिभराउ भएका छन्”, उहाँले भन्नुभयो ।

नयाँ वर्ष लक्षित पर्यटकको आगमन दोब्बरले बढेको जनाउँदै अध्यक्ष प्रधानले अहिले यहाँका होटलले १५ प्रतिशत छुटको व्यवस्था गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ वर्षमा यहाँ आयोजना गरिएको स्थानीय परिकारका खानाको महोत्सवले पनि पर्यटकको आगमन बढाएको हो । शनिबारदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ ।” अन्य समयमा घुमेर फर्किने पर्यटक बढी हुने गरेकामा नयाँ वर्षमा बास बस्न आउनेको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ ।

अध्यक्ष प्रधानका अनुसार नयाँ वर्षलाई लक्षितगरी बन्दीपुरमा दुई हजार बढी पर्यटक आइपुगेका छन् । यहाँ आएकामध्ये ८० प्रतिशत बास बसेका छन् । यस वर्ष यहाँ दुई लाख १० हजार पर्यटक आएकामध्ये ६० बाह्य र एक लाख ५० हजार आन्तरिक पर्यटक रहेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमनसँगै आन्तरिक पाहुँनाको आगमन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टेमा पारिवारिक हिसाबले बस्न पाइने भएकाले पनि आन्तरिक पाहुना होमस्टेमा बस्न रुचाउँछन् ।”

यहाँ होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालित छन् । यहाँ शनिबारदेखि स्थानीय जातका (रैथाने) खाना महोत्सव सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्दै हुनुहुन्छ । महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष घोषणा गरेर हामी यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका छौँ । सन् २०२५ भरी यहाँ विविध कार्यक्रम आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्नेछौँ ।”

महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाँचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।

बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा सो सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । रासस