
काठमाडौँ । अभिषेक शर्मा र ट्राभिस हेडको शानदार साझेदारीको मद्धतमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई आठ विकेटले पराजित गरेको छ ।
शनिबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको यस खेलमा पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो ।
जवाफमा, गत सिजनको उपविजेता टोलीले १८.३ ओभरमा दुई विकेट गुमाउँदै २४७ रन बनायो र खेल जित्यो । योसँगै हैदराबादले आईपीएल इतिहासमा दोस्रो ठूलो लक्ष्य पछ्याएको छ ।
यसअघि पञ्जाब किंग्सले गत सिजन कोलकाता विरुद्ध २६२/२ को स्कोर गर्दै सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको थियो ।
२४६ रनको लक्ष्य पछ्याउँदा हैदराबादको ओपनिङ जोडी पूर्ण लयमा देखियो । ट्राभिस हेड र अभिषेक शर्मा बीच पहिलो विकेटको लागि १७१ रनको विशाल साझेदारी भयो । यो हैदराबादका लागि ओपनिङ जोडीले गरेको दोस्रो ठूलो साझेदारी हो ।
यस मामिलामा शीर्ष स्थानमा जोनी बेयरस्टो र डेभिड वार्नर छन्, जसले २०१९ मा आरसीबी विरुद्ध १८५ रनको साझेदारी गरेका थिए ।
यस खेलमा अभिषेकले आफ्नो आईपीएल करियरको पहिलो शतक मात्र ४० बलमा पूरा गर्दै ठूलो उपलब्धि हासिल गरे । उनी आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने छैटौं ब्याट्सम्यान बनेका छन् । अभिषेकले पञ्जाब विरुद्ध १४१ रनको सानदार इनिङ खेले ।
योसँगै उनी आइपीएलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी बनेका छन् । आफ्नो इनिङ्सको क्रममा, २४ वर्षीय ब्याट्सम्यानले २५६.३६ को स्ट्राइक रेटमा १४ चौका र १० विशाल छक्का प्रहार गरे ।
यस खेल अघि खराब लयसँग संघर्ष गरिरहेका हेडले पनि उत्कृष्ट पुनरागमन गरे । उनले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरे र ६६ रन बनाएर आउट भए । उनी बाहेक हेनरिक क्लासेनले २१ रन र इशान किशनले नौ रन बनाएर अविजित रहे । पञ्जाबका लागि अर्शदीप सिंह र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
यसअघि पञ्जाबले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि प्रियांश आर्य र प्रभसिमरन सिंहबीच ६६ रनको साझेदारी भयो । आर्य १३ बलमा ३६ रन बनाएर आउट भए । यो साझेदारीको कारण, पञ्जाबले पावर प्लेमा दोस्रो उच्च स्कोर पनि बनायो । पहिलो ६ ओभर सकेसम्म पञ्जाबको रन ८९/१ थियो ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका श्रेयस अय्यरले पनि दमदार प्रदर्शन गरे । उनले २२ बलमा आफ्नो अर्धशतक पूरा गरे । यसपछि उनले ३६ बलमा ८२ रन बनाए । उनले प्रभसिमरनसँग दोस्रो विकेटको लागि २५ रन जोडे ।
ओपनर ब्याट्सम्यान ४२ रन बनाएर पभेलियन फर्किए । त्यसपछि, श्रेयसलाई नेहल वधेराले साथ दिए र दुवैले ७३ रनको विशाल साझेदारी गरे। इशान मालिंगाले वढेरालाई एलबीडब्ल्यू आउट गरे । उनले २७ रन बनाए ।
इनिङको अन्तिम ओभरमा मार्कस स्टोइनिसले मोहम्मद शामीविरुद्ध लगातार चार बलमा चार छक्का प्रहार गरे । यस ओभरमा तीब्र बलरले २७ रन दिए । स्टोइनिसले अविजित ३४ रन बनाए । हैदराबादका लागि हर्षल पटेलले चार विकेट लिए भने इशान मालिंगाले दुई विकेट लिए ।