३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा
अ+ अ-

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न थालेको छ । अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको चलचित्र ‘अञ्जिला’ गत फागुन २९ र ‘राजगञ्ज’ यही चैत १ देखि प्रदर्शन भइरहेका छन् । एक दिनको फरकमा एकै अभिनेताको दुई चलचित्र प्रदर्शन हुँदा त्यसको असर पर्ने अनुमान गरिएको थियो ।

सोही अनुसार अञ्जिला व्यावसायिक रूपमा सफल भए पनि राजगञ्जले उल्लेख्य सफलता हासिल गर्न सकेको छैन । आज चैत २९ देखि अभिनेता दिव्यदेव पन्तले अभिनय गर्नुभएको दुई चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ एकसाथ प्रदर्शन भएका छन् । नाटक हुँदै चलचित्रमा अभिनेता बन्नुभएका पन्तले ‘कर्मा’मा नेपाल प्रहरी र ‘पिताम्बर’मा खलनायकको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो पात्रलाई जीवन्त बनाउन हरप्रयास गर्नुहुने अभिनेता पन्तले नयाँ अनुभव भइरहेको बताउनुभयो ।

“दुई चलचित्र एकसाथ प्रदर्शन भएको पहिलोपटक हो । दुवै चलचित्रमा मैले आफू देखिने भन्दा पनि पात्रलाई पर्दामा ल्याउने कोसिस गरेको छु । अभिनेता म भए पनि पर्दामा देखिने पात्र फरक भएकाले दर्शकले त्यहाँ दिव्य नभई हेर्ने चलचित्रको पात्र पाउनु हुनेछ”, पन्तले भन्नुभयो ।

नेपाली चलचित्रमा ‘आवरण’मार्फत अभिनय यात्राको सुरुआत गर्नुभएका अभिनेता पन्त प्रायः कलात्मक चलचित्रमा देखिनुहुन्छ । कलात्मकतालाई प्राथमिकता दिनुहुने उहाँले ‘महाजात्रा’ चलचित्रपछि लगातार व्यावसायिक चलचित्रमा काम गरिरहनुभएको छ ।

“अभिनेताले सबै किसिमको चलचित्रमा काम गर्नुपर्छ भन्ने लागेर नै मैले आफूलाई पर्दामा उतारिरहेको गरिरहेको छु । व्यावसायिक होस् वा कलात्मक म आफ्नो पात्रलाई जीवन्त र भिन्न बनाउने कोसिस गरिरहेको हुन्छु । हरेक विधाको चलचित्रमा काम गर्दा यसले मेरो अभियान यात्रामा अनुभव थप्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

अभिनेता पन्त केही समय विश्राम गरेर आगामी चलचित्रमा काम गर्ने योजनामा हुनुहुन्छ । लगातार काम गर्दा त्यसको प्रभाव समीक्षा गर्न नपाउने भएकाले उहाँले विश्राम लिने योजना बनाएको बताउनुभयो ।

“आफ्नै कामको मूल्याङ्कन गर्न जरुरी छ, त्यसकारण केही समय विश्राम गरेर त्यसलाई समीक्षा गर्नेछु । म बेलाबखतमा रङ्गमञ्चमा पनि प्रस्तुत हुन्छु, किनकि त्यहाँ आफ्नो अभिनयलाई मापन गर्न सकिन्छ”, अभिनेता पन्तले भन्नुभयो ।

‘पिताम्बर’ धेरै कलाकार हुनुको कारण

चलचित्र ‘पिताम्बर’ आजदेखि प्रदर्शन भएको छ । नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन भएको चलचित्रमा कलाकारको भीडभाड नै देखिएको छ । अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले चलचित्रमा अभिनय गर्नुभएको छ ।

उल्लेखित कलाकारहरू कथाको मागका कारण राखिएको निर्देशक कृषा चौलागाईँले जानकारी दिनुभयो । उहाँले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताउनुभयो ।

“हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई पनि यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ”, निर्देशक चौलागाईँले भन्नुभयो । उहाँले दर्शकले आफूलाई मन परेको कलाकारलाई पहिलेभन्दा भिन्न तरिकाले चलचित्रमा देख्न पाउने बताउनुभयो ।

अभिनेता प्रदीप खड्काले चलचित्रका लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको जानकारी दिनुभयो । उहाँले पात्रका लागि शारीरिक तौल घट्बढ्सँगै आवश्यक तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट प्रयास गरेको हुँ । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि म तयार भएको हुँ ।”

उहाँले बिनासम्झौता चलचित्र तयार भएको भन्दै सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्रायः प्रेम कथानक चलचित्रमा अभिनय गर्नुभएका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधाका लागि आफू मा तयार भएर अभिनय गर्नुभएको हो ।

चलचित्र भव्य बनेको अभिनेता दिव्यदेव पन्तको भनाइ छ । उहाँले निर्माण समूहको सोच र लगनशीलता देखेर सम्पूर्ण कलाकारले मेहनत गर्नुभएको बताउनुभयो । “चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरिएको छैन । यति धेरै कलाकार र बजेटमा एउटा महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र तयार गर्नुभएको कुराले अन्य चलचित्रकर्मीलाई पनि उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

सो चलचित्रमा रवीन्द्र झा, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्नुभएको छ । विशाल चौलागाईँ निर्माता रहनुभएको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन, निर्देशक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्देप्रसादले सम्पादन, आशिष अविरल र बाबुल गिरीले सङ्गीत सृजना, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।