८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.03

Humidity: 88

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा



अ+ अ-

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न थालेको छ । अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको चलचित्र ‘अञ्जिला’ गत फागुन २९ र ‘राजगञ्ज’ यही चैत १ देखि प्रदर्शन भइरहेका छन् । एक दिनको फरकमा एकै अभिनेताको दुई चलचित्र प्रदर्शन हुँदा त्यसको असर पर्ने अनुमान गरिएको थियो ।

सोही अनुसार अञ्जिला व्यावसायिक रूपमा सफल भए पनि राजगञ्जले उल्लेख्य सफलता हासिल गर्न सकेको छैन । आज चैत २९ देखि अभिनेता दिव्यदेव पन्तले अभिनय गर्नुभएको दुई चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ एकसाथ प्रदर्शन भएका छन् । नाटक हुँदै चलचित्रमा अभिनेता बन्नुभएका पन्तले ‘कर्मा’मा नेपाल प्रहरी र ‘पिताम्बर’मा खलनायकको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो पात्रलाई जीवन्त बनाउन हरप्रयास गर्नुहुने अभिनेता पन्तले नयाँ अनुभव भइरहेको बताउनुभयो ।

“दुई चलचित्र एकसाथ प्रदर्शन भएको पहिलोपटक हो । दुवै चलचित्रमा मैले आफू देखिने भन्दा पनि पात्रलाई पर्दामा ल्याउने कोसिस गरेको छु । अभिनेता म भए पनि पर्दामा देखिने पात्र फरक भएकाले दर्शकले त्यहाँ दिव्य नभई हेर्ने चलचित्रको पात्र पाउनु हुनेछ”, पन्तले भन्नुभयो ।

नेपाली चलचित्रमा ‘आवरण’मार्फत अभिनय यात्राको सुरुआत गर्नुभएका अभिनेता पन्त प्रायः कलात्मक चलचित्रमा देखिनुहुन्छ । कलात्मकतालाई प्राथमिकता दिनुहुने उहाँले ‘महाजात्रा’ चलचित्रपछि लगातार व्यावसायिक चलचित्रमा काम गरिरहनुभएको छ ।

“अभिनेताले सबै किसिमको चलचित्रमा काम गर्नुपर्छ भन्ने लागेर नै मैले आफूलाई पर्दामा उतारिरहेको गरिरहेको छु । व्यावसायिक होस् वा कलात्मक म आफ्नो पात्रलाई जीवन्त र भिन्न बनाउने कोसिस गरिरहेको हुन्छु । हरेक विधाको चलचित्रमा काम गर्दा यसले मेरो अभियान यात्रामा अनुभव थप्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

अभिनेता पन्त केही समय विश्राम गरेर आगामी चलचित्रमा काम गर्ने योजनामा हुनुहुन्छ । लगातार काम गर्दा त्यसको प्रभाव समीक्षा गर्न नपाउने भएकाले उहाँले विश्राम लिने योजना बनाएको बताउनुभयो ।

“आफ्नै कामको मूल्याङ्कन गर्न जरुरी छ, त्यसकारण केही समय विश्राम गरेर त्यसलाई समीक्षा गर्नेछु । म बेलाबखतमा रङ्गमञ्चमा पनि प्रस्तुत हुन्छु, किनकि त्यहाँ आफ्नो अभिनयलाई मापन गर्न सकिन्छ”, अभिनेता पन्तले भन्नुभयो ।

‘पिताम्बर’ धेरै कलाकार हुनुको कारण

चलचित्र ‘पिताम्बर’ आजदेखि प्रदर्शन भएको छ । नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन भएको चलचित्रमा कलाकारको भीडभाड नै देखिएको छ । अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले चलचित्रमा अभिनय गर्नुभएको छ ।

उल्लेखित कलाकारहरू कथाको मागका कारण राखिएको निर्देशक कृषा चौलागाईँले जानकारी दिनुभयो । उहाँले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताउनुभयो ।

“हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई पनि यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ”, निर्देशक चौलागाईँले भन्नुभयो । उहाँले दर्शकले आफूलाई मन परेको कलाकारलाई पहिलेभन्दा भिन्न तरिकाले चलचित्रमा देख्न पाउने बताउनुभयो ।

अभिनेता प्रदीप खड्काले चलचित्रका लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको जानकारी दिनुभयो । उहाँले पात्रका लागि शारीरिक तौल घट्बढ्सँगै आवश्यक तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्देशक, निर्मातासहितको समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट प्रयास गरेको हुँ । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि म तयार भएको हुँ ।”

उहाँले बिनासम्झौता चलचित्र तयार भएको भन्दै सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिनुभयो । प्रायः प्रेम कथानक चलचित्रमा अभिनय गर्नुभएका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधाका लागि आफू मा तयार भएर अभिनय गर्नुभएको हो ।

चलचित्र भव्य बनेको अभिनेता दिव्यदेव पन्तको भनाइ छ । उहाँले निर्माण समूहको सोच र लगनशीलता देखेर सम्पूर्ण कलाकारले मेहनत गर्नुभएको बताउनुभयो । “चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरिएको छैन । यति धेरै कलाकार र बजेटमा एउटा महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र तयार गर्नुभएको कुराले अन्य चलचित्रकर्मीलाई पनि उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।

सो चलचित्रमा रवीन्द्र झा, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्नुभएको छ । विशाल चौलागाईँ निर्माता रहनुभएको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन, निर्देशक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्देप्रसादले सम्पादन, आशिष अविरल र बाबुल गिरीले सङ्गीत सृजना, हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।