
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकमा नेपालले कुवेतलाई हराएको छ ।
जितका लागि १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाउदै पुरा गर्यो । नेपालको जितमा ओपनर भुर्तेलले उत्कृष्ट खेले । उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ८१ रन बनाए । अर्का ओपनर आशिफ शेखले ३८ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५३ रन बनाए ।
यस्तै, दिपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३१ रन बनाउदा कुशल मल्ल ४ रन बनाएर आउट भए । गुल्शन झा ९ र रोहित पौडेल ४ रनमा अविजित रहे ।
यसअघि, कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो । कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले ३५, बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।