काठमाडौं । सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभयो । बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको पनि जानकारी दिनुभयो । उहाँले सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको समेत जानकारी दिनुभयो । वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यस्ता छन् सोमवारको मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरु:
१. वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको संवत २०८१ साल चैत २४ गते आईतवारको दिन ९७ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ ।
२. २०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने ।
३. २०८२ वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने दक्षिण एसियाली ऊर्जा सचिवहरूको १८औँ गोलमेच बैठक सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति प्रदान गर्ने ।
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव (प्रा.) श्री राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने ।
५.गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
६. नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने र एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
७. श्री रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू.फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने ।
८. २०८२ जेठ ४ गतेदेखि ७ गतेसम्म बेलायतको लन्डनमा हुने एजुकेशन वल्र्ड फोरुम २०२५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईलाई सहभागी हुन स्वीकृति दिने ।
९. बौद्धनाथ विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री मोहन कुमार तामाङ, ललितपुरलाई नियुक्त गर्ने ।
१०. भागेश्वर गाउँपालिका, डडेल्धुराको केन्द्र वडा नं. ४ बगरकोटबाट परिवर्तन गरी वडा नं. ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
११. नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज
गर्ने ।
१२. २०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने एपिटी (एशिया प्रशान्त दूरसञ्चार) मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति दिने ।
१३. वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।










