१६ असार २०८३, मंगलवार
,
Latest
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षदेखि खानेपानी अवरुद्ध



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ । सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरु भएको हो । 

मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको थियो । खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

रु ४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन् । सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो ।

सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो । सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताउनुभयो । 

किमाथाङ्का–खाँदबारी सडकखण्डमा पाइप विस्तार गरिएकाले समस्या भएको हो । यस सडकखण्डमा बेलाबेला सडक चौडा पार्ने र मर्मतकार्य भइरहेको छ । यस सडकखण्डमा काम गरिरहेको उत्तरदक्षिण (कोशी) सडक आयोजना कार्यालयले पटक–पटक सडकमा पाइप नराख्न भने पनि खानेपानी आयोनाले त्यसलाई बेवस्ता गर्दै मुख्य सडकमै पाइप विस्तार गरेको थियो । खानेपानी सञ्चालन हुन नसक्दा खाँदबारी नगरपालिका–१ देखि ९ वडाका विभिन्न स्थान, चिचिला गाउँपालिकाको चिचिलाबजार क्षेत्र र कुवापानीसहितका तीन हजार ५०० घरधुरी खानेपानीबाट वञ्चित हुनुपरेको छ । 

खानेपानी वर्ष दिनसम्म बन्द रहँदासमेत यसमा सम्बन्धित पक्षको ध्यान पुग्न नसकोको उपभोक्ताको गुनासो छ । खानेपानी संस्थाले जडान शुल्कवापत उपभोक्ताबाट अग्रिमरूपमा रु दुई करोड ५० लाखभन्दा बढी रकम उठाए पनि पानी खान नपाउँदा स्थानीयवासी आक्रोशित छन् । गलत डिजाइन र गलत परामर्शका कारण सडकमा पाइप लाइन विस्तार गरिएकाले अहिले यस्तो समस्या आएको खानेपानी संस्थाका अध्यक्ष नरेन्द्र राई बताउनुभयो । पाइप सडकमा बिछ्याउने काम नै गलत भएकाले अहिले पानी वितरण गर्न नसकिएको अध्यक्ष राईले बताउनुभयो । दाताको सहयोगबिना संस्थाले पाइप मर्मत गरी पानी वितरण गर्न नसक्ने उहाँको भनाइ छ ।