
एजेन्सी । जापान सरकारले ८९ वर्षीय इवाओ हाकामातालाई हत्याको झुटो आरोपमा ४७ वर्ष जेल बसेको कारण २० करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
हाकामातालाई सन् १९६८ मा गिरफ्तार गरिएको थियो । उनले २०१४ सम्म जेल सजाय भोग्दै आएका थिए । गत वर्ष सेप्टेम्बरमा जापानको शिजुओका सहरको अदालतले उनलाई सबै आरोपबाट सफाइ दिएको थियो ।
उनलाई सन् १९६६ मा आफ्नो मालिक, उनकी श्रीमती र दुई छोराछोरीको हत्या गर्ने, घरमा आगो लगाएको र २ लाख येन (जापानी मुद्रा) चोरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
हाकामाताका वकिलहरूका अनुसार यो देशको इतिहासमा कुनै पनि आपराधिक मुद्दामा दिइएको सबैभन्दा ठूलो क्षतिपूर्ति हो ।
हाकामाताकी बहिनी हिदेकोले आफ्नो भाइको निर्दोषता प्रमाणित गर्न प्रमाण जुटाउन धेरै वर्ष मेहनत गरिन् । त्यसपछि अदालतले २०१४ मा मुद्दाको पुनः सुनुवाइ सुरु गर्यो र हकामातालाई जेलबाट रिहा गरिदियो ।
हिदेकोले ५७ वर्षदेखि यही दिनको प्रतिक्षामा रहेको र त्यो दिन आएको बताइन् । ‘अन्ततः मेरो काँधबाट बोझ हट्यो ।’ उनले भनिन् ।
बुढेसकाल र बिग्रिएको मानसिक अवस्थाका कारण उनलाई मुद्दाको सुनुवाइमा उपस्थित हुनबाट छुट दिइएको थियो । उनी ९१ वर्षीया दिदी हिदेकोको हेरचाहमा बस्दै आएका थिए ।