२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना



अ+ अ-

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गर्नुभयो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उहाँले आफू पुन: नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।”

त्यसो त उहाँले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गर्नुभयो । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उहाँको बुझाइ छ । उहाँले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गर्नुभयो ।

“मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भन्नुभयो ।

कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्‍यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गर्नुभएको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गर्नुभएको थियो ।

भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उहाँले बताउनुभयो । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गर्नुभयो ।

“मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उहाँले भन्नुभयो ।

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताउनुभयो । उहाँले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिनुभयो । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ । रासस