
एजेन्सी । सीबीआईले बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ४ वर्ष ६ महिना १५ दिनपछि अन्तिम प्रतिवेदन पेश गरेको छ । जसमा अनुसन्धान एजेन्सीले सुशान्तलाई आत्महत्या गर्न उक्साउने कुनै प्रमाण नभेटिएको बताएको छ ।
सुशान्त सिंह राजपुत १४ जुन २०२० मा बान्द्रास्थित आफ्नो घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । अब सीबीआईको अन्तिम प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भएको उल्लेख गरिएको छ ।
यस मामलामा रिया चक्रवर्ती २७ दिन जेलमा बस्नुपर्ने भयो । सीबीआईबाट अन्तिम रिपोर्ट आएपछि रियाका वकिल सतीश मानेशिन्देले विज्ञप्ति जारी गर्दै यस मामिलामा धेरै झुटा कथाहरू सिर्जना गरिएको बताए । यति हुँदाहुँदै पनि रिया र उनको परिवारले चुपचाप सबै कुरा सहन गरेको बताए ।
घटनापश्चात सुशान्तका बुबा केके सिंहले रिया चक्रवर्तीविरुद्ध आत्महत्याका लागि उक्साएको, ठगी र पैसाको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेका थिए । यस्तै, रिया चक्रवर्तीले पनि सुशान्तको परिवारमाथि मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् ।
सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुन २०२० मा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो । यी दुवैको मृत्यु शंकास्पद मानिएको थियो । यसपछि बुबा सतीश सालियनले दिशाको सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाएका थिए । तर राजनीतिक दबाबका कारण यो विषय दबाइएको थियो ।