८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सोहीअनुरुप ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आइभीआर’ सेवा थाल्ने, शय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको  क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर ‘डिजिटल’ नतिजा दिने जनाइएको छ ।

त्यसैगरी भरतपुर अस्पतालमा क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गर्ने तयारी छ । तालिकाअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्यूरोलोजी सेवामा ‘इलेक्ट्रोमाइलोग्राफी’ तथा ‘एनसीभी’ परीक्षण थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी क्षमता विस्तार गर्ने योजना छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो साताभित्र आरम्भ गर्ने र कान्ति बाल अस्पतालले बालबालिकाका लागि ‘हेमोडायलाइसिस’ सेवा चैत तेस्रो साताभित्र आरम्भ गर्ने तालिकामा उल्लेख छ ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र चार शय्याको ‘पिआइसीयु’ स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा ‘सिमुलेसन’ प्रयोगशाला आरम्भ गर्ने जनाइएको छ ।

त्यसैगरी तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोस्रो साताभित्र ‘हेमोडायलासिस’ सेवा थाल्नेछ । भेरी अस्पतालले भने १० आइसीयु शैय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ । चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । रासस