३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ



अ+ अ-

काठमाडौँ । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गर्नुभएको छ । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज मन्त्रालयमा शपथग्रहण गर्नुभएको हो । उहाँलाई विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराउनुभएको हो ।

यसअघि २०७६ सालदेखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्य पदमा कार्यरत भट्टराईले आज दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो । आयोग स्थापनाकालमा सदस्य रहननुभएकी उहाँले सोही समयमा विद्युत् उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०६९ सालदेखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य हुनुभएको थियो । उहाँ यसअघि ग्लोबल आइएमई बैङ्कको स्वतन्त्र सञ्चालक हुनुहुन्थ्यो ।

शपथग्रहण समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढिलै भए पनि नियमन आयोगले पूर्णता पाएको उल्लेख गर्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताउनुभयो ।

“सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पूरा गर्न नियमनकारी निकायको जिम्मेवारी अझ बढी छ,” उहाँले भन्नुभयो । मन्त्री खड्काले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई ल्याउँदै गर्दा कति शुल्कमा दिने भन्नेबारे आयोगले चाँडो टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले बढी विद्युत् खरिद गर्नेलाई कसरी सहुलियतदरमा विद्युत् उपलब्ध गराउन सकिन्छ भन्नेबारे समेत आयोगले अध्ययन गर्नुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले पछिल्लो समय नियमनकारी निकायको महत्व र भूमिका बढ्दै गएकाले आफ्नो ज्ञान, सीप र क्षमतालाई आयोगमा अधिकतम रुपमा लगाउन आग्रह गर्नुभयो । विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले लिएको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न आयोगले काम गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सिँचाइ सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, विद्युत् नियमन आयोगका सदस्यलगायतको सहभागिता रहेको थियो ।