४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप

लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप
सांकेतिक तस्बिर
अ+ अ-

बिन्द्रावती बनिया एक्कासी अचेत भएपछि भीम अस्पताल लगियो । रुपन्देही तिलोत्तमा– १४ बस्ने ३५ वर्षीया बनिया अचेत भएपछि परिवारले अकस्मात् अस्पताल लगेका हुन् । गर्भवती बनिया बेहोस किन भएकी हुन् भन्ने पत्ता लगाउन पनि चिकित्सकलाई धौधौ भयो । अचेत घटनाले चिकित्सकलाई पनि अचम्मित तुल्यायो । सोधपुछपछि पत्ता लाग्यो कि बनियाले गर्भवतीपछि गरिनुपर्ने नियमित स्वास्थ्य परीक्षण एकपटक पनि गरेकी थिइनन् । आमा र बच्चा दुवैलाई जोगाउनुपर्ने बाध्यता थियो तर चिकित्सकको अथक प्रयासले  बच्चा निकालेर सघन उपचार कक्षमा राखियो, दुर्भाग्य बच्चा बचाउन सकिएन ।

रोल्पा नगरपालिका–१० धबाङकी ३० वर्षीया माया थापालाई प्रसूति ब्यथा लाग्यो । तर बच्चा नजन्मेपछि रोल्पा अस्पताल लगियो । परीक्षणपछि चिकित्सकले गर्भवतीमा उच्च रक्तचाप देखिएको र जुम्ल्याहा शिशु भएकाले शल्यक्रिया गर्न दाङ वा बुटवल जान सुझाव दिए । घरपरिवारले धेरै खर्च लाग्ने भन्दै प्रसूति गराउन अन्त लगेनन् । दुई दिनपछि घरमै जुम्ल्याहा शिशु जन्मियो । तर, सुत्केरीपछि रक्तश्राव रोकिएन । बेहोस भएकी उनको मृत्यु भयो । बनिया र थापा हाम्रो समाजका उदाहरण पात्र मात्रै हुन् । गर्भवती हुँदा नियमित जाँच नगराउँदा झेल्नु परिरहेका यी र यस्तै थुप्रै घटनाहरु हाम्रासामु पुनरावृत्ति भइरहेका छन् । गर्भवती र प्रसवका बेला स्वास्थ्य संस्थामा पुग्नुपर्छ भन्ने चेतनाको अझै पनि अभाव छ ।

गर्भवती भएको दिनदेखि प्रसूतिको ४२ दिनभित्र कुनै महिलाको मृत्यु हुन्छ भने त्यसलाई मातृमृत्यु मानिन्छ । मातृमृत्यु दर महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युको दर भन्ने बुझिन्छ । गर्भावस्थालाई सामान्य रूपमा लिएर नियमित रूपमा औषधि सेवनदेखि परीक्षण नगर्ने परिपाटीका कारण महिलाको मृत्यु हुने गरेको पाइएको छ । यस्तो मृत्यु नियन्त्रण गर्न नेपाल सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी तथा राष्ट्रिय गैरसरकारी संस्थाले प्रयास पनि गरिरहेका छन् । प्रयासस्वरूप दुई दशकयता मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा प्रगति हासिल भए पनि अपेक्षित छैन । पछिल्लो तथ्याङ्कले पनि मातृमृत्युदर उच्च नै रहेको देखाएको छ । धनीको तुलनामा गरिबीमा रहेका र कलिला आमाको मृत्युदर अझै उच्च छ ।

कस्तो छ मातृमृत्यु दरको अवस्था ?

मातृ मृत्युदरको समग्र अवस्था चिन्ताजनक छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा अहिले पनि हरेक दिन आठ सय जना महिलाको ज्यान गर्भावस्थासँग सम्बन्धित कारणले हुने गर्दछ । यसमध्ये सबैजना लगभग ९९ प्रतिशत महिला हाम्रो जस्तो विकासोन्मुख देशका हुन्छन् । नेपालमा स्वास्थ्य संस्थामै पुगेका आमाहरूकै मृत्यु ५७ प्रतिशत, सुत्केरी अवस्थामा ६१ प्रतिशत र गर्भावस्थामा ३३ प्रतिशतको मृत्यु हुने गरेको छ । यसले हाम्रो स्वास्थ्य प्रणाली, सम्बद्ध जनशक्ति र सेवा प्रवाहलाई चुनौती दिइरहेको देखाउँछ ।

लुम्बिनी प्रदेशमा मातृमृत्युदर कति छ ? त्यसको छुट्टै यकीन तथ्याङ्क छैन । २०७८ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतको संयुक्त प्रयासमा मातृमृत्युको तथ्यगत अध्ययन गरिएको थियो । सो अध्ययनअनुसार लुम्बिनीमा सबैभन्दा धेरै मातृमृत्यु दर देखिएको छ । लुम्बिनी प्रदेशमा प्रतिलाख जीवित जन्ममा दुई सय सात आमाले ज्यान गुमाइरहेका छन् । जबकि दिगो विकास लक्ष्यअनुसार सन् २०२२ सम्म मातृमृत्युको दर एक सय १६ मा झारिसक्नुपर्ने थियो । सन् २०३० भित्र यो दर ७० भन्दा तल झारिसक्नुपर्नेछ । नेपालकै समग्र मातृमृत्युको दर भने प्रतिलाख जीवित जन्ममा एक सय ५१ छ । सबैभन्दा कम बागमती प्रदेशमा प्रतिलाखमा ९८ मातृमृत्युदर छ भने सुदूरपश्चिममा एक सय सय ३०, कर्णालीमा एक सय ७२, गण्डकीमा एक सय ६१, मधेसमा एक सय ४०, कोशीमा एक सय ५७ छ । लुम्बिनी प्रदेशमा पाँच वर्षमा आमा बन्दा तीन सय २४ जना मृत्युको मुखमा पुगे । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार, आव २०७४/७५ मा प्रदेशका ५३ महिलाले आमा बन्दा ज्यान गुमाए । यो सङ्ख्या बढेर आव २०७५/७६ मा ५४ पुग्यो । आव २०७६/७७ मा ७१, आव २०७७/७८ मा ७२ र आव २०७८/७९ मा ७४ आमाको मृत्यु भएको छ ।

अध्ययनको तथ्यअनुसार नेपालमै सबैभन्दा बढी मातृमृत्यु बाँकेमा भएको छ । त्यस अवधिमा देशभर एक सय ५८ जना सुत्केरी आमाको मृत्यु भएकामा बाँके जिल्लामा मात्रै ३६ जनाको मृत्यु भएको पाइएको थियो । यसमध्ये गर्भावस्थामै १५ जना र सुत्केरी भइसकेपछि १९ जनाको मृत्यु भएको पाइएको थियो । बाँकेमा पछिल्ला तीन आर्थिक वर्षमा ६० जना आमाको ज्यान गएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/७९ मा २२ जना आमाको ज्यान गएकोमा २०७९/८० मा २० र २०८०/८१ मा १८ जनाको ज्यान गएको थियो । सङ्घीय अस्पताल, आधारभूत अस्पतालसहित सरकारी र निजी गरी सयौँको सङ्ख्यामा स्वास्थ्य संस्थाहरू रहेको बाँकेमै मातृमृत्युको यो अवस्था चिन्ताजनक हो । अझ स्वास्थ्य संस्था बढी भएको नेपालगञ्ज उपमहानगरपालिकामै मातृमृत्यु अरु स्थानीय तहको भन्दा बढी छ ।

किन न्यूनीकरण भएन मातृमृत्यु दर ? 

मातृमृत्यु दर कम गर्ने अनेकन प्रयास गरिए पनि किन घटेन मातृमृत्युदर ? यसको पनि लेखाजोखा गरिनुपर्छ । मातृमृत्युका कारण धेरै छन् । मातृमृत्यु दरका कारक तत्वमा नियमित स्वास्थ्य (गर्भ) परीक्षण नगरिनु,  स्वास्थ्य संस्था र सेवामा पहुँच नहुनु, अस्पताल नै पुग्न नसक्नु,  उच्च रक्तचाप, उच्च रक्तश्राव, गर्भावस्थासम्बन्धी सङ्क्रमण, शल्यक्रियाका बेला एनेस्थेसिया व्यवस्थापनमा समस्या आदि मानिएको छ । यस्तै कम उमेरमा विवाह र बच्चा हुनु, छिटोछिटो गर्भवती हुनु, विपन्नता, खानपिनको सचेतना नहुनु यस्ता कारण पनि मातृमृत्युका कारण छन् । मृत्युको प्रमुख कारण बच्चा जन्मेपछि अत्यधिकमात्रामा रगत बग्ने रहेको छ । प्रसुति हुनुपूर्व वा प्रसूतिपछि अत्यधिक रक्तश्रावले सबैभन्दा बढी २३ प्रतिशत सुत्केरीको मृत्यु हुने गरेको पाइएको छ । सुत्केरी भएपछिको सङ्क्रमण, गर्भावस्थामा उक्त रक्तचाप र असुरक्षित प्रसूति तथा गर्भपतनले गर्दा यसो हुनेगर्छ । स्वास्थ्य संस्थामा दरबन्दीअनुसार प्रसूति विज्ञ, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी नहुनु, भौतिक पूर्वाधार र आवश्यक उपकरण नहुनुले पनि आमाहरू मृत्युको मुखमा धकेलिएका छन् । यस्तै सङ्घीय सरकारले गर्भ परीक्षणलाई बढाउन चार पटक गर्भजाँच गर्नेलाई सात सय र स्वास्थ्य संस्थामा प्रसूति हुन जानेलाई यातायात खर्चबापत रकम पनि दिने गरेको छ ।

लुम्बिनीमा विशेषज्ञ सेवासहितका अस्पताल छन् तर पनि मातृमृत्यु दर न्यूनीकरण हुन सकेको छैन, जबकि प्रदेशमा तीन वटा सङ्घीय, दुई वटा प्रादेशिक, १३ वटा जिल्लास्तरका, १९ वटा साधारण असपताल गरी एक हजार नौ सय ४० वटा स्वास्थ्य चौकी छन् ।

नेपालको संविधानले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक दिएको छ । सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन २०७५ लागू गरिएको छ । यसले महिला गर्भवती हुने वा नहुने रोज्न पाउनेदेखि राज्यबाट सुरक्षित मातृत्व सेवा पाउनुपर्ने अधिकारलाई समेट्छ । भरपर्दो सेवा दिनुपर्ने राज्यको कर्तव्य पनि हो ।

के भएका छन् सुधारको प्रयास ?

लुम्बिनी प्रदेश सरकारले पछिल्लो चरण स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर सुधारको प्रयास नगरेको होइन । तथापि, मातृमुत्यु दर न्यूनीकरणमा अनेकन चुनौतीहरु कायमै छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा मातृमृत्यु दरलाई कम गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । प्रदेश सरकारद्वारा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय तहसँगको समन्वय र सहकार्यलाई पनि जोड दिइएको छ । आवश्यकताको आधारमा चिकित्सक र उपकरण उपलब्ध गराउनेलगायत दुर्गमका अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा प्रदान गर्ने प्रयास गरिएको छ ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधारसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । समुदायस्तरबाट कुपोषित बालबालिका खोजेर उपचारसम्म ल्याउने लगायतका कार्य गरिरहेको छ । मातृमृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालीन अवस्थाका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवाजस्ता कार्यक्रम सञ्चालन गरिएको छ ।  सरकारले चाहेर मात्रै मातृमृत्यु दर कम हुन्छ भन्ने सुनिश्चित छैन । त्यसका लागि सरकारसँग उत्कृष्ट कार्य योजना, इच्छाशक्ति, तदारुकता र कार्यान्वयन गर्ने टिम चाहिन्छ । मातृमृत्यु कम गर्न सर्ब प्रथमतः स्थानीय सरकार, स्वास्थ्य सम्बद्ध निकाय, कार्यालय र नागरिकबीचको साझा बुझाई र हातेमालो हुन पनि आवश्यक छ । हरेक नागरिक आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन पनि जरुरी छ । साथै, स्वस्थ आहारविहार र विचारमा पनि ध्यान दिन अनिवार्य छ, अनि मात्रै स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण हुन सक्छ ।