काठमाडौँ । पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले आइतबार दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न च्याम्पियन्स ट्रफी अवार्ड समारोहमा पाकिस्तानबाट एक जना पनि प्रतिनिधि नरहेकोमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भने कि पीसीबीले मञ्चमा एक जना पनि प्रतिनिधिलाई नपठाउनु लाजमर्दो कुरा हो । च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

अवार्ड समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष जय शाह, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का अध्यक्ष रोजर बिन्नी, सचिव देवजित साइकिया र न्यूजिल्याण्ड क्रिकेट (एनजेडसी) का निर्देशक रोजर टौज मञ्चमा उपस्थित थिए ।
मञ्चमा पाकिस्तानका कुनै पनि अधिकारी थिएनन् । जबकि पाकिस्तान च्याम्पियन्स ट्रफी २०२५ को आधिकारिक आयोजक थियो । च्याम्पियन्स ट्रफीका टूर्नामेन्ट निर्देशक समेत रहेका पीसीबीका प्रमुख अपरेटिङ अफिसर सुमैर अहमद दुबईमा उपस्थित थिए तर उनलाई मञ्चमा बोलाइएको थिएन ।
पाकिस्तानले २९ वर्षपछि आईसीसी प्रतियोगिता आयोजना गरेको थियो ।










