काठमाडौं । काँग्रेसमा विमलेन्द्र निधिको भित्री पहिचान शेरबहादुर देउवाको दाहिने काँध भन्ने हो । बाहिरी पहिचान उपसभापति त हो नै त्यसमा उनको भित्री भूमिका जोड्नुपर्यो भने उनको खास पहिचान यही नै हो । तर अहिले उनले पार्टीमा सभापतिको उम्मेदवारी दिने घोषणा मात्र होइन, बुढानीलकण्ठ पुगेर औपचारिक रुपमै देउवासँग सहयोग मागेका छन् । उनका सहयोगीहरु भन्छन्, निधिनले आफू सभापतिमा उठ्ने कुरा पहिले पनि नगर्ने त होइनन् तर यसपालि उनले देउवा निवास पुगेरै सहयोग मागेपछि भने अब उनी पछि हट्दैनन् होला भन्ने लागेको छ ।
हुन् पनि गएको साउन २७ गते मंगलबारको दृश्य त्यस्तै देखियो । काँग्रेस उपसभापति विमदेन्द्र निधिले आफू निकटका केही केन्द्रीय नेताहरुलाई आफ्नो निवास बोलाएर कुरा गरिरहेकै बेला उनलाई बुढानिलकण्ठबाट फोन आयो– सभापतिजीले भेट्न खोज्नुभएको छ आउनुपर्यो भनेर । यता निधिले भने काँग्रेसको आगामी १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराउन भेटघाट गरिरहेका बेला थाहा पाएजस्तो गरी आएको फोनले निधिलाई मात्र होइन त्यहाँ उपस्थित सबैलाई झस्कायो । उपस्थितहरुले त्यही मौका छोपे र निधिलाई प्रश्न गरे– पहिला पनि हामीले यी यसरी फोन आउन थालिसक्यो, पहिलेजस्तै फेरि पछि हट्ने त होला नि ? तर निधिले आफू यसपालि कसैगरी पछि नहट्ने जनाएका थिए ।
त्यसैदिन उनले सभापति शेरबहादुर देउवालाई भेटे र आसन्न महाधिवेशनमा सभापतिमा आफ्नो दाबी रहेको स्पष्ट गरे । निधिले गत महिना नै संस्थापनइतरका नेतालाई आफू सभापतिको उम्मेदवार बन्ने संकेत दिइसकेका मात्र नभएर महामन्त्री डा शशांक कोइरालासँग त सहयोग नै मागेका थिए ।
आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने मनस्थिति बनाएक देउवाका लागि यो एक सेटब्याक नै हो । किनभने निधिले उपसभापति मात्र होइन कि सिंगो मधेश नै धानिदिएका थिए । सायद अब उनी पनि उठे भने त्यो अवस्था नहोला । देउवाले निधिलाई अर्को महाधिवेशनमा हाम्रो समूहबाट निधिलाई सर्वसम्मत उम्मेदवार भनेपछि निधिले भने १५औं महाधिवेशनसम्म अर्को पुस्ता सभापतिका लागि तयार भइसक्छ, अब त्यो पुस्ताले हामीलाई दिँदै दिँदैन भनेर जवाफ फर्काए । उनले थपे अब अर्कोमा त मलाई उमेरले पनि साथ दिँदैन ।
निधि र देउवा निकटस्थहरु यसपालि निधि पछि नहट्ने कुरा उनी गृहमन्त्री भएको बेलासँग जोडेर हेर्ने गरेका छन् । प्रहरी महानिरीक्षक काण्डले उनी लामो समयसम्म देउवासँग चिढिएका थिए । त्यसपछि काँग्रेसमा उपसभापति बनाउन देउवाले विजय गच्छदारलाई जोरजुलुम गरेपछि पनि निधिले व्यापक असहमति राखेका थिए । गच्छदारलाई देउवाले गरेको बढुवाले त्यतिबेलै निधिको मनमा चिसो पसेको थियो । उनले गच्छदारलाई मधेशमा आफ्नो विकल्पमा देउवाले तय गरेको उम्मेदवारका रुपमा हेरेका छन् ।
निधिले पछिल्लो समय भारत आउने जाने क्रमलाई केही बाक्लो बनाएका कतिपय काँग्रेसीजन सुनाउँछन् । उनी लकडाउनका केही हप्ता अघिपनि नयाँ दिल्ली थिए । उनी निकटहरु भन्छन् पछिल्लो समयमा निधिले उतातर्फ आफ्नो लाइन मिलाएका छन् । नेपाली काँग्रेस पार्टी फुटेदेखि आजसम्मको यात्रामा दरिलो खम्बा बनेर साथ दिँदै आएका निधिका कारण मात्र होइन यसपटक सभापतिको सिंहासन जोगाउन देउवालाई ठूलै सकस पर्ने देखिएको छ ।
काँग्रेसीजनहरु भन्छन्– निधिमात्र होइन कि अहिलेसम्म आफू सभापतिमा उठ्ने भनी घोषणा गरी आएका अहिलेसम्मका सबैजना उम्मेदवारहरु यदि पछि हटेनन् भने साँच्चिकै देउवाले पनि आफ्नो उम्मेदवारीका विषयमा धारणा परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । आजसम्मको घोषणामा निधिबाहेक पनि कृष्ण सिटौला, प्रकाशमान सिंहले उम्मेदवारी दिने बताइसकेका छन् । उनीहरु अघिल्लो महाधिवेशनमा सबैजना देउवाका निकटस्थ भएरै काम गरेका हुन् । पहिलो चरणको निर्वाचनमा रामचद्र पौडेल र देउवाको स्पष्ट बहुमत नआएपछि पार्टीमा तेस्रो धारको प्रतिनिधित्व गरेका सिटौलाले देउवालाई सहयोग गरेपछि देउवाको जित निश्चित भएको कुरा सबैलाई ताजै छ । यसैले अहिले यी आफै निकटकाहरुलाई आफ्नो नियन्त्रणमा राख्न सकेनन् भने देउवाको अवस्था अहिले नै भन्न सक्ने अवस्थामा देखिँदैन ।
अर्कातर्फ संस्थापनइतरका उम्मेदवारीहरु त छँदै नै छन् जस्तो रामचन्द्र पौडेल, सशांक कोइराला, डा. रामशरण महतले पनि यस पटक उम्मेदवारी दिने घोषणा गरेका छन् । उता काँग्रेसक अर्का एक प्रभावशाली नेता शेखर कोइरालाको तयारी त झन् छँदै नै छ । फेरि युवा पुस्ताको मनोकांक्षालाई युवा नेता गगन थापाले बेला बेलामा मलजल गरि नै रहेको देखिन्छ । उनले आफैले प्वाक्क भन्न नसकेपनि काँग्रेसको सिंगो युवा पुस्ताले आफूलाई अघि सारेको देखेर उनले मौन सहमति जनाइ नै रहेका छन् । यदि त्यसो भयो भने अहिलेको देउवा र पौडेलको ताल देखेर वाकदिक भएका सिंगो देशभरको युवा पुस्ताले यो लोकप्रिय निर्णय नलेला भन्न पनि सकिँदैन । अघिल्लो महाधिवेशनमा काँग्रेसका महाधिवेशन प्रतितिधिहरुमध्ये कम्तीमा एक तिहाई त ३० वर्ष भित्रैका युवा थिए । पार्टीले नेवि संघको महाधिवेशन कम्तीमा १५ वर्षसम्म गर्न नसकेर थन्काएका युवा काँग्रेसीहरुले एकै पटक फड्को मारेर पार्टीको महाधिवेशनसम्म आइपुगेका थिए । त्यसैले यस पटक पनि यो अवस्था देखिन सक्छ । यति धेरै आकांक्षी भएपछि यसको परिणाम कता, कसरी जान्छ भन्ने भेउ पाउनै गाह्रो हुनसक्छ । त्यसैले यतिखेर काँग्रेसीजन भनिरहेका छन्– यसपालि देउवालाई आफ्नो सिंहासन जोगाउन सकसै छ ।










