४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

मन्त्रले के दिन्छ ?  

मन्त्रले के दिन्छ ?  
अ+ अ-

हाम्रा पितापुर्खा (ऋषिमुनि)हरूले कठोर तपस्या, अनवरत अनुसन्धान र बारम्बारको परीक्षणद्वारा अद्भूत शब्दशक्ति प्राप्त गरे जसलाई मन्त्र भनियो । अधिकांश मन्त्र नेपालका हिमाल, पहाड, नदीकिनारा, गुफा, कन्दरा, जङ्कल, झरना आदिमा ऋषिहरूले देखे । मन्त्रको संगालो वेद हो, महादेवले पार्वतीलाई दिएको उपदेश तन्त्र हो, प्रविधिको भण्डार नै यन्त्र हो ।

ऋषिमुनिले यहीँको प्रकृतिअनुकूल जीवन बिताएर, औषधिजन्य वनस्पति खाएर शिक्षा, सेवा र समाजमा जीवन अर्पण गरे । ज्ञानशक्तिद्वारा ग्रन्थ लेखे, महादेव र पार्वतीको कृपाबाट तन्त्र संकलन गरे, ईश्वरको स्वरूप र प्रकृतिको रहस्यलाई समेटेर यन्त्र बनाए, मौलिकस्वरूपलाई ध्यान दिई मुद्रा बनाए । सन्ततिले बुझून्, सदुपयोग गरुन् भनी ताम्रपत्र, ताडपत्र, भूर्जपत्र, शिलापत्र आदिमा ज्ञान, विज्ञान र इतिहासलाई लिपिबद्ध गरिदिए । जीवन, जगत्, औषधि, अध्ययन, मुक्ति, प्रविधि आदिको रहस्य मन्त्रमा भण्डार गरे । मन्त्रद्वारा शक्ति र शान्ति ल्याए, तन्त्रद्वारा प्राणी र प्रकृतिलाई जोगाए, यन्त्रबाट शिक्षा र सभ्यताको सञ्चार गराए, मुद्राबाट देवीदेवताको आशीर्वाद लिए ।

नेपाल यसरी मन्त्रकी जननी, तन्त्रकी मातृभूमि, औषधिकी आमा, योगको नर्सरी, मुद्राकी माँ, यन्त्रको उत्पत्तिस्थल भयो । मन्त्रले ऋषि जन्माउँछ, यन्त्रले विज्ञान मौलाउँछ, तपले ज्ञानलाई फुलाउँछ, साधनाले शान्तिलाई फैलाउँछ, तन्त्रले रोगलाई हटाउँछ, संस्कारले समस्याको समाधान गर्छ । मन्त्र अदृश्य शक्ति, अचूक हतियार, उपाय र उपचारको स्रोत हो । ध्वनिले जन्माएको, अक्षरले बनाएको, शब्दले निर्माण गरेको, वाक्यले बाँधिएको, अर्थले भरिएको अद्भूत र अविनाशी शक्ति भएको ईश्वरको श्वास तथा हाम्रो विरासतलाई मन्त्र भनियो ।

विधिपूर्वक सिकेमात्र मन्त्रको अर्थ, प्रयोजन र शक्तिको अनुभव गर्न सकिन्छ । मन्त्रको उच्चारण गर्दा ऊर्जा प्रवाह हुन्छ, मनस्थितिलाई बदल्छ, परिस्थितिलाई रूपान्तरण गर्छ । मन्त्रसँग हाम्रो इतिहास, संस्कृति, परम्परा, राष्ट्र, प्रकृति, जीवनदर्शनको नाभी जोडिएको छ । मन्त्रबलबाट राक्षसहरूले देवतालाई चुनौती दिन्थे, युद्ध जितिन्थ्यो, हतियार बन्दथे, संसारका रहस्य र जीवनको महत्व बुझ्थे, ईश्वर साक्षात्कार गर्थे ।

पुर्खाको नाशो, अग्रजको चिनो भएकाले हरेक नेपालीले मन्त्र पढ्नुपर्छ, तन्त्र बुझ्नुपर्छ, यन्त्र र मुद्रालाई प्रयोग गर्नुपर्छ । वेद, त्रिपिटक र मुन्धुमको जन्म मन्त्रबाटै भयो । भोजनदेखि भजनसम्म, मनदेखि मनोरञ्जनसम्म, श्वासदेखि स्वर्गसम्म, पुर्खादेखि पौरखसम्म मन्त्र जोडिएका छन् । यसकारण मन्त्र नजप्दा माता, मातृभूमि, मातृभाषा, मातृसंस्कृतिको सराप लाग्छ । मन्त्र हाम्रो भाग्य हो, भरोसा हो, भगवान्को स्वरूप हो । ‘दैवाधीनं जगत्सर्वं मन्त्राधीनाश्च देवता:’ अर्थात् परमात्माको अधीनमा जगत् छ, देवताहरू मन्त्रका अधीनमा छन् । व्रतबन्धमा मन्त्र दान दिइन्छ ।

मन्त्रदीक्षा नदिईकन विशेष देवीदेवताको पूजा गर्न पाइँदैन । गुह्वेश्वरी, शैलेश्वरी, तारा, पशुपतिका पूजारी बन्न दीक्षा लिनै पर्छ । मन्त्रले जीवन, संस्कार, चिन्तन बदलिने हुँदा मन्त्रदीक्षा दिनेलाई ढोग्नुपर्छ । मन्त्र नेपालमा फुलेको सञ्जीवनी हो । गर्भसंस्कारदेखि मृत्युसंस्कारसम्म, खाँदादेखि सुत्दासम्म, घरको जग राख्न, भाषणको शुरुवात गर्दा, पढ्दा, जन्मदिन मनाउँदा, ग्रहशान्ति र प्रसादग्रहण गर्दा, यात्रा गर्दा, आशीर्वाद दिँदा मन्त्रको प्रयोग हुन्छ । मन्त्रद्वारा अर्काको शरीरमा (कायप्रवेश) प्रवेश गर्ने, रूप परिवर्तन गर्ने, प्रकृतिलाई अधीनमा लिने गरिन्छ ।

देवीभागवत्, रामायण, महाभारत आदिमा मन्त्रका बहुआयामबारे चर्चा छ । ‘मननात् त्रायते यस्मात्तस्मान्मन्त्र: प्रकीर्तित:’ अर्थात् जसको चिन्तन, मननले मुक्ति मिल्छ त्यसलाई मन्त्र भनिन्छ । मन्त्रलाई उचितरूपले प्रयोग र परिचालन गर्नेलाई मन्त्री भनिन्छ । जहाँ मन्त्रसम्बन्धी छलफल, चिन्तन, मनन र परीक्षण हुन्छ त्यसलाई मन्त्रालय भनिन्छ । ‘मन्त्रारं त्रायते’ अर्थात् जसले पढ्छ, मनन गर्दछ त्यसलाई मन्त्रले उद्धार गर्दछ । सत्ययुगमा जुन सामथ्र्य, वैभव, विकास र प्रगति थियो त्यसमा मन्त्रकै आशीर्वाद थियो । मन्त्रले मनुष्य जन्मायो, महादेवलाई पैदा गरायो, माटोलाई आड्दियो, प्रकृतिलाई साथ दियो ।

गृहे जप: समं विद्याद् गोष्ठे शतगुणं भवेत् ।

नद्यां शतसहस्रं तु अनन्त: शिवसन्निधौ ।।

समुद्रतीरे देवह्रदे गिरौ देवालयेषु च ।

पुण्येश्रमेषु सर्वेषु जप: कोटिगुणो भवेत् ।।–लिड्डपुराण, (पूर्वभाग ८५।१०६–१०७)

अर्थात् “घरमा  भन्दा गाईका गोठमा मन्त्र जप्दा सय गुणा, नदीकिनारमा जपे एक लाख गुणा, शिवालयको नजिकमा जपे अनन्त गुणा, समुद्रको किनार, देवालय, पहाड एवं  पुण्य क्षेत्रमा जप गर्दा करोड गुणा धेरै फल प्राप्त हुन्छ ।” अन्तरिक्षसम्बन्धी अध्ययन, क्षेप्यास्त्र परीक्षण, जीवनयापन, अन्न उत्पादन, विभिन्न अनुसन्धानमा भूबनोट, समाजको चिन्तन, प्रकृतिको ऊर्जाले असर गर्छ । एक लिङ्कको शिवालय, मशानघाट, शून्य घर, चौबाटो, वन, पर्वत, निर्जन स्थान, शून्य र शान्त देवमन्दिर, मंगलदायिनी देवी वा ढुङ्काको मूर्तिमा पूजा गर्दा छिटै सिद्धि प्राप्त हुन्छ ।  मन्त्रबाट लाभ लिन स्थान, समय, विधि, ऋषि, छन्द, देवता, बीज, वाच्यार्थ आदिको ज्ञान हुनुपर्छ । मन्त्रको संख्यामा तलमाथि नहोस्, ध्यान केन्द्रित बनोस् भनी मन्त्रअनुसारको माला प्रयोग गरिन्छ ।

पद्माक्षैर्दशलक्षं तु सौवर्णै: कोटिरुच्यते ।

कुशग्रन्थ्या च रुद्राक्षैरनन्तगुणमुच्यते ।।–लिड्डपुराण,(पूर्वभाग ८८।१११)

अर्थात् “कमलको बिऊको माला जप्नाले दश लाख गुणा, सुनको माला जप्नाले करोड गुणा, कुशको ग्रन्थी एवं रुद्राक्षको मालाले जप्दा अनन्त गुणा फल मिल्दछ ।” शङ्खको मालाले जप गर्दा सय गुणा, स्फटिकको मालाले दश हजार गुणा, मोतीका मालाले लाख गुणा फल प्राप्त हुन्छ । रुद्राक्षको तीस दानाबाट बनेको मालाले जप गर्दा धन लाभ, सत्ताइस दानाबाट पुष्टि, पच्चीस दानाबाट मुक्तिदायक, पन्ध्र दाना टुनामुनाका लागि फलदायी हुन्छ । पूर्व फर्केर मन्त्र जप गर्दा अरूलाई वशमा राख्न सकिन्छ, दक्षिण फर्केर जप्दा अभिचार कर्ममा सफलता मिल्छ, पश्चिम फर्केर जप्दा धनदायक र उत्तर फर्केर जप्दा शान्तिदायक हुन्छ । नेपालका अद्भूत रत्न, पत्थर, वनस्पतिबाट बनेका मालामा मन्त्रशक्ति छिट्टै सक्रिय भई ईश्वर साक्षात्कार हुन्छ,  प्राणीको इच्छा पूरा हुन्छ, पुर्खालाई प्रसन्न गराउँछ । माला बनाउने पदार्थ, मन्त्र, इष्टदेवलाई बुझेर उपयुक्त तिथिमा जगाई जप्नुपर्छ । साधकहरूले जपेको मालालाई छुँदा, लगाउँदा, दर्शन गर्दा लाभ मिल्छ । नेपालका कन्दरा, खोलाका किनारा, हिमाल, तालतलैया, जङ्कल आदिमा ऋषिमुनिहरूले विभिन्न मालाद्वारा साधना गरे । माला बनाउन र जप्न, मन्त्र उच्चारण गर्न हाम्रै भूमिले सिकायो । २७ नक्षत्रको स्वरूप, ब्रह्यण्डको आकार, अक्षरहरूको आकृतिसँग मिल्ने गरी माला बनाइन्छ ।

फलमेतद्वाचिकस्य जपस्य परिकीर्तितम् ।

तस्माच्छतगुणोùपांशु: सहस्रो मानसो मत: ।।–योगिनीतन्त्र (१३।५५)

अर्थात् “वाचिक जपको फल उपांशुको भन्दा सय गुणा र मानसिक जपको भन्दा हजार गुणा बढी हुन्छ ।” आवाज निकालेर गरिएको जपलाई वाचिक, ओठमात्र चलाएर जप्नुलाई उपांशु, मनमनै जप गर्नुलाई मानस भनिन्छ ।  सिद्धिका लागि मानस जप, पुष्टिका लागि उपांशु, मारणका लागि वाचिक जप उपयुक्त हुन्छ । आज्ञाहीन, क्रियाहीन, श्रद्धाहीन, ध्यानहीन, दक्षिणाहीन मन्त्र जप्नाले कुनै फाइदा हुँदैन । गुरुका उपदेश, अग्रजको अनुभव, शास्त्रको विधिसहित शिवालय, सूर्य, गुरु, दीयो, गाई, जलाशयलाई अगाडि पारेर मन्त्र जप गर्नु फलदायी हुन्छ । यसरी जप्दा सामग्रीको अभाव, कम समय, विधिमा न्यूनता भए पनि छिट्टै अधिक लाभ  मिल्छ ।

ब्रह्यण्डले ॐ, प्राणले सोùहं, प्रकृतिले तारक मन्त्रको जप गर्छन् । मानवको कल्याण होस् भनी ऋषिमुनिले  व्रतबन्धपछि गायत्री मन्त्र जप्न लगाए । महिलालाई सासु, कुलकीपूज्या महिला वा कुलगुरुद्वारा मन्त्र दिइन्छ । गुरुले जपिरहेको मन्त्र जागिरहेको हुँदा शिष्यले त्यो मन्त्रको साधना गर्दा छोटो समयबाट अधिक लाभ लिन सक्छ । मन्त्रलाई मन्त्रकै रूपमा, मन्त्रकै तरिकाले, मन्त्रकै विधिबाट, मन्त्रको मर्मअनुसार प्रयोग गर्नुपर्छ, मन्त्रले भनेझैँ जाग्नुपर्छ, उभिनुपर्छ र बाँच्नुपर्छ । मन्त्रलाई ढोग्नुपर्छ, पुज्नुपर्छ, बुझ्नुपर्छ, सदुपयोग गर्नुपर्छ । मन्त्रलाई विज्ञानमा, जीवनमा, युवामा, कर्ममा, माटोमा, प्रविधिमा, शिक्षामा, प्रशासनमा जोड्न आवश्यक छ अन्यथा हजुरबा र बुबाले जपे भन्दैमा नयाँ पुस्ताले स्वीकार गर्दैनन् ।

सन्तानलाई मन्त्र, शास्त्र र साधनाका विषयमा लगाउनुपर्छ । मन्त्रले वसुधैव कुटुम्बकम् (सबै आफन्त हुन्), सर्वे भवन्तु सुखिन: (सबै सुखी हुन्), ईशावास्यामिदं सर्वम् (सम्पूर्ण जगत्मा ईश्वर व्याप्त हुनुहुन्छ), आत्मवत् सर्वभूतेषु (सबैलाई आफैँ सम्झने) पाठ पढाउँछ । संस्कृतभाषा नबुझ्दा, साधना विधि हराउँदा कुन मन्त्रले के लाभ दिन्छ, तन्त्रले के फाइदा गर्छ ? यन्त्र (जन्तर)ले कसरी काम गर्छ भन्ने तथ्य भुलेका छौँ । मन्त्रको व्यापार गर्ने होइन व्यवहारमा उतार्नुपर्छ । मन्त्रलाई शब्द थेरापीको रूपमा युगानुकूल सदुपयोग गर्न नसक्दा  धर्मगुरुमाथि शंका, धर्मशास्त्रमाथि प्रश्न, धर्ममाथि औँला ठडिन थाल्यो । छाउपडी, सती, बोक्सीजस्ता कुप्रथाको घाउलाई मन्त्रले निको पार्छ, विभाजित समाजमा मलम लगाउँछ । मन्त्रको अन्तमा ‘हुँ फट्’ आए पुरुष,  ‘स्वाहा’ आएमा स्त्री र ‘नम:’ आएमा नपुंसक मानिन्छ । आवश्यकताअनुसार यिनीहरूको प्रयोग गरिन्छ ।

अचानक भेटिएका वा सपनामा प्राप्त भएका मन्त्र अत्यन्त प्रभावकारी हुन्छन् । महत्व नबुझ्दा मन्त्रलाई झारफुक गर्ने, ठग्ने, बोक्सी बनाउने वितण्डाको विद्या बनाइयो । पानी र खरानीमा मन्त्र, तामसी पदार्थमा इन्द्रजालका तन्त्र प्रभावकारी हुन्छन् । मन्त्रद्वारा पानी बर्साइन्छ, देवीको मन्दिरमा जप्दा घर झगडा सकिन्छ, भैरवनजिक जप्दा मुद्दा जितिन्छ, सूर्यलाई हेरेर जप्दा हड्डी र रगतको समस्या आउँदैन, तीर्थ र देवस्थलमा जप्दा राज्यमा विनाशले प्रवेश पाउँदैन । चन्द्रमा हेरी जप्दा मानसिक र चिसोको समस्या हट्छ । भौतिक विज्ञानले पृथ्वीलाई साँघुरो बनाएको छ, मन्त्रले ब्रह्यण्डलाई नजिक गराउँछ, तन्त्रले विभिन्न लोकलाई साथमा राख्छ ।

मन्त्रले मनको तनाव, शरीरको समस्या, समाजको अप्ठेरो, राष्ट्रका अवरोध आदिलाई हटाउँछ । अध्यात्म विज्ञानले बाह्य र आन्तरिक संवृद्धि दिलाउँछ । मन्त्रशक्तिबाटै महादेवले गणेशको शिरमा हात्तीको टाउको जोडे । पुष्पक विमान, त्रिपुरशहर, रामेश्वरदेखि लंकासम्मको पुल, कृष्णको द्वारिका शहर मन्त्रशक्तिले बनेको हो । देवी र शुम्भ, राम र रावण, इन्द्र र इन्द्रजित, महाभारतलगायतका युद्धमा मन्त्रबाट शस्त्रास्त्र प्रहार गरिएको थियो । खुट्टा बालेर खाना पकाउने, थाललाई आकाशमा फालेर चन्द्रमाजस्तै उज्यालो दिने, एकै दिनमा मानसरोवर, चारधामलगायतका तीर्थमा पुग्ने, इच्छाएको सामग्री ल्याउने, टाढाका कुरा सुन्ने, ब्रह्यण्डका गतिविधि थाहा पाउन मन्त्रशक्तिको प्रयोग गरिन्थ्यो । मन्त्र जप्नेको मनमा कुविचार आउँदैन, भ्रष्टाचार र व्यभिचार गर्दैन । नेपालीको आत्मा, आर्यावर्तको आभा, प्रजातन्त्रको बीऊ, लोकतन्त्रको फूल, राजतन्त्रको फल पनि मन्त्र हो । तन्त्र केवल शासन हो, मन्त्र सबैको आसन हो । तन्त्र फेरिन्छ जस्तै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, राजतन्त्र । परमात्माको श्वास भएकाले मन्त्रलाई परिमार्जन र रूपान्तरण गर्न सकिँदैन, संशोधन गर्नुपर्दैन ।

मन्त्र, तन्त्र र यन्त्रले हामीलाई सनातनी र संस्कारी हुन सिकायो । केही क्रिश्चियनले मन्त्रलाई बोक्सीविद्या, रुढीवादी, अर्थहीन भनी हीरालाई हिलो बनाउने काम गर्दैछन् । मन्त्र जप्ने जनताले उमेद्वार छान्न सक्छन्, मन्त्र प्रयोग गर्ने पार्टीले जनतालाई बुझ्छ, मन्त्रको राज जान्नेले राष्ट्रलाई पुज्छ । मतदान गर्नेहरू नै मन्त्रविहीन भएकाले दीनहीन सरकारलाई नेपालीले स्वीकार गर्नुपरेको छ । मन्त्रमा माटो मौलाउँछ, जनता प्रसन्न हुन्छन्, अराजक तत्वले मुन्टो उठाउन सक्दैन, शासकको गौरव बढ्छ, राष्ट्रको सर्वाङ्गिण विकास हुन्छ । मन्त्रको प्रभावले बुद्धजस्तो गुरु, पृथ्वीनारायण र महेन्द्रजस्तो शासक हुन्छन् ।

नेपाललाई स्वनिर्भर बनाउन, नवउपनिवेशबाट जोगाउन, गिरेको साख बचाउन, गोरखालीको शान, नेपालको मान, वैदिक ज्ञानलाई उच्च राख्न मन्त्र जप्नुपर्छ । मन्त्रलाई हाम्रा पुर्खाले देखे, हाम्रो भूमिले जन्मायो, हाम्रै जल र जंगलले जपेकाले यसबाट विमुख हुनु महापाप हो । तन्त्रले इतिहासलाई चिनायो, मन्त्रले माटो दियो, यन्त्रले युग हाँक्न सिकायो यसैमा नेपालको गौरव जोडिएको छ । मन्त्र, यन्त्र र तन्त्रले जीवन, राष्ट्र र प्रकृतिलाई संरक्षण गरेकाले यसलाई भुल्नुहुँदैन ।