२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षित कोष नबनाई बीमा व्यवस्थित हुन सक्दैन: स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिनअघि स्वास्थ्य बीमाबारे दिनुभएको सार्वजनिक अभिव्यक्ति अहिले विवादमा परेको छ । अघिल्लो साता काठमाडौंमा भएको नेपाल औषधि थोक व्यवसायी महासंघको एक कार्यक्रममा उहाँले दिनुभएको अभिव्यक्तिले स्वास्थ्य बीमाको भविष्यमाथि नै प्रश्न उठेको भन्दै सांसदहरुले सदनमा पनि आवाज उठाए । स्वास्थ्य बीमा बोर्डकाअनुसार २०७२ चैतमा शुरू भएको स्वास्थ्य बीमा अहिले ७७ जिल्लामै पुगिसकेको छ । देशभरका ८९ लाख जनता आवद्ध भएको स्वास्थ्य बीमामा ४८ निजीसहित ४८४ स्वास्थ्य संस्थाहरूले विमितलाई सेवा प्रदान गरिरहेको यो कार्यक्रममाथि तालुकदार मन्त्रालयकै नेतृत्वकर्ताले विवादस्पद अभिव्यक्ति दिँदा कार्यक्रम नै कतै बन्द हुने त होइन ? भन्ने संशय देखिएको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँगको न्युज एजेन्सी नेपालले गरेको विशेष कुराकानीको सम्पादित अंश ।

प्रश्नः तपाईंले पदबहाली गरेपछि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै रकम पनि थप गर्ने बताउनुभएको थियो तर अहिले एकाएक किन पछाडी हट्नुभएको ?

जवाफः कुनै कार्यक्रममा शिलशिलावद्ध रुपमा बोल्दा बोलीको बीचको अंश अहिले बाहिर आएको छ, खासगरी स्वास्थ्य बीमाले मात्रै नेपालको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सक्छ । नागरिकलाई प्रभावकारी, सरल, सस्तो र आवश्यक पर्नेलाई निःशुल्क उपचार प्रदान गर्नसक्छ भन्ने म जस्तो मान्छेले स्वास्थ्य बीमा खारेज गर्ने बोल्नै सक्दैन । यो ढंगले स्वास्थ्य बीमा चल्दैन, यसलाई व्यवस्थित गर्न जरुरी छ । यसको कोष सुरक्षित गर्न जरुरी छ । यहाँभित्र जुन बेथिति छ सबै हटाउन जरुरी छ । धेरै नागरिकलाई योगदान गर्ने स्थिति स्वास्थ्य बीमाले बनाउन सक्नुपर्छ । धेरै नागरिकले योगदान गर्ने, योगदान गर्न नसक्नेलाई राज्यले निःशुल्क प्रिमियम तिरिदिने व्यवस्था गरेर अहिले नागरिकको गोजीबाट १०० रुपैयाँ खर्च गर्दा उपचारका लागि ५५ रुपैयाँ खर्च भएको स्थिति छ । अब हामीले जुन बीमाबाट २० रुपैयाँमा नागरिकको उपचार हुनसक्ने स्थिति बन्न सकोस् । त्यसैले हामीले बीमा अन्त्य गर्ने होइन, बीमा व्यवस्थित गर्न खोजेको हो । बीमाबाट मात्रै उपचार गर्ने व्यवस्था मिलाउन खोजिरहेका छौं । यसलाई व्यवस्थित गर्न हामीले समिति बनायौं । त्यो समितिले प्रतिवेदन बुझाइसकेको छ । कार्यान्वयनका लागि फेरि कार्यान्वयन प्रतिवेदन समेत बनिसकेको छ र यो एकदमै छिट्टै त्यसको व्यवस्थापकिय पक्ष सुदृढ हुनेगरी अगाडी बढ्दैछ । त्यसैले कहीँ कतै एउटा प्रसँगमा बोलेको विषयले बाहिर भ्रम परिरहेको छ, त्यो एकदमै गलत हो । हामीले ल्याउन खोजेको स्वास्थ्य भित्रको समाजवाद स्वास्थ्य बीमाबाट मात्रै प्राप्त हुनसक्छ ।

प्रश्नः स्वास्थ्य बीमा कोष कसरी सुरक्षित बनाउनुहुन्छ ?

जवाफः स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै सुरक्षित कोष बनाउनुपर्छ । सबै नागरिकलाई बीमाभित्र आवद्ध गराउनुपर्छ । कोषमा जसले जेबाट योगदान गर्नसक्छ उसैबाट गर्नुपर्छ । जस्तैःतलव खानेले तलबको थोरै अंशबाट, कर तिर्नेले करको एकदमै थोरै अंशबाट योगदान गर्नसक्छ । राज्यले जुनजुन पक्षमा आम्दानी गर्नसक्छ थोरै आम्दानीको प्रतिशत बीमा कोषमा दिने व्यवस्था गर्नुपर्छ । स्वास्थ्य बीमाका कार्यक्रमहरु एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्छ । सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोषको स्वास्थ्य क्षेत्रको सम्पूर्ण बजेट स्वास्थ्य बीमा कोषमा लैजानुपर्छ । अब छरिएर होइन एकद्वार प्रणालीबाट स्वास्थ्य बीमाका कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । राज्यले जुनजुन शिर्षकमा स्वास्थ्य सुविधा दिएको छ तिनीहरुलाई बीमा कोषमा लगेर राख्नुपर्छ । अब त राष्ट्रिय परिचय पत्र, पार्सपोर्ट लिनका लागि पनि बीमा गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्छ । सबै नागरिकलाई अनिवार्य रुपमा बीमा जोड्ने, बीमा कोष सुरक्षित गर्ने, नियमित आम्दानीको परिस्थिति बनाउने र राज्यले पनि सक्ने योगदान गर्नुपर्छ ।

प्रश्नः ठ्याक्कै योगदान कसरी गर्नसक्ने बनाउन सकिन्छ त ?

जवाफः तलव तिर्नेहरुलाई प्रिमियम तिर्न नपर्ने तलबको १.५ प्रतिशतबाट अनुदान गर्न लगाउने, कर तिरिरहेकाहरुलाई तिरिरहेको करबाट प्रमियम तिर्न नपर्नेगरी १।५ प्रतिशतबाट अनुदान गर्न लगाउने, तलव पनि नखाने कर पनि नतिर्नेले उनीहरुले प्रिमियम तिरेर योगदान गर्ने व्यवस्था गर्नुपछ । यो तिनओटै गर्न नसक्नेलाई राज्यले प्रिमियम तिरेर बीमामा जोड्नुपर्छ ।

प्रश्नः अहिले फेक क्लेमको अवस्था पनि देखिएको हो ?

जवाफः हो, अहिले फेक क्लेमको अवस्था देखिएको हो । उपचारै नगरी गरेको भन्ने, उपचार गराए भन्ने जुन स्थिति छ, त्यो फेक क्लेमको स्थिति सम्पूर्ण रुपमा अन्त्य गर्नुपर्छ । त्यसमा एकदकै कडा कानून ल्याउनुपर्छ र त्यसलाई लागू गर्नुपर्छ । को पेमेन्ट पनि १० प्रतिशत भन्दा बढि बढाइनु हुँदैन । यसलाई पनि व्यवस्थित गर्न जरुरी छ । यसको व्यवस्थापकीय पक्षलाई सुधार गरेर बीमाको माध्यमबाट सबैले उपचार गर्ने स्थीति बनाउनुपर्छ ।

प्रश्नः साउन यता बीमा भुक्तानी भएको छैन, किन ?

जवाफः अघिल्लो वर्षको बीमासँग सम्बन्धित वक्यौता झन्डै १६ अर्ब छ । जुन अहिलेको बजेटको शिर्षकमै छैन । अहिलेको बजेटको शिर्षकमा बीमाको रकम विनियोजन गरेको जम्मा साढे ७ अर्ब हो । यो पूरै १२ महीना र अघिल्लो वर्षको १६ अर्ब हिसाव गर्ने हो भने यो ३५ अर्बभन्दा माथि जान्छ । त्यसैले यो सुरक्षित कोष नभएकै कारणले समस्यामा पर्ने नै भयो । म स्वास्थ्यमन्त्री भइसकेपछि यो वर्षको साढे ७ अर्ब बजेट भुक्तानी भइसक्यो । अझै ५ महीना यो आर्थिक वर्षमा बाँकी छ । यो वर्षको पैसा भुक्तानी हुँदा २०८१ असारसम्मको पूरा भुक्तानी हुन सकेको छैन । असारदेखि यताको पूरै बाँकी छ । असार यता निजी अस्पतालहरु समेत थपिएको अवस्था छ । अघिल्लो वर्ष जति रकम जुन देखिएको थियो, यो वर्ष दोब्बर भन्दा नि बढी देखिने देखियो । त्यसकारण सुरक्षित कोष नबनाई बीमा व्यवस्थित हुन सक्दैन ।

प्रश्नः त्यत्रो रकम अब कसरी भुक्तानी हुन्छ ?

जवाफः राज्यले जुन वक्यौता तिर्छु भनेर प्रतिवद्धता जनाएको छ, त्यो तिर्दन भन्न मिल्दैन । फेक क्लेम जुन छ, त्यो पत्ता लगाएर हटाउनुपर्छ । फेक क्लेम हटाएर जति बाँकी रहन्छ त्यो तिर्नुपर्छ । एउटा अस्पतालमा मात्रै ६० करोड वक्यौता देखिन्छ । तिर्दै नतिरी अस्पताललाई उपचार गरिराख भन्ने स्थिति छैन । अहिलेको फेक क्लेमकोबारेमा निक्र्यौलमा नपुगि सरकारले भुक्तानी दिन सक्दैन तर ५०–६० प्रतिशित रकम एकदमै छिटो भुक्तानीको व्यवस्थाको तयारी गरिरहेका छौं ।

प्रश्नः ‘फेक क्लेम’ पत्ता लगाउन कार्यक्रम स्थगनको तयारी हो?

जवाफः फेक क्लेम पत्ता लगाउनुपर्ने छ । दिनदिनै करोडौं रुपैयाँ थपिएको छ । त्यसैले यसलाई व्यवस्थित गर्नका लागि केही समय स्थगन गर्ने हो की भन्ने हो । त्यो स्थगन गर्नुको अर्थ सबै ठाउँमा गर्ने भन्ने होइन, केही पक्षलाई मात्रै स्थगन गर्ने हो की भन्ने छलफल चलिरहेको स्थिति छ । मेरो भनाईको सन्दर्भ स्वास्थ्य बीमा व्यवस्थित भएन, व्यवस्थित गराउने र सुरक्षित कोष बनाउने चुनौति छ । यो दुवै काम हामी गर्छौं ।