
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कीर्तिपुर वर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते हुनुभएको थियो ।
उपप्रधानमन्त्री पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले उहाँलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
साथै, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको तर मेयर आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेकाले उहाँ केहीदिन अस्पतालमै रहने पनि अस्पतालले जनाएको छ ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उहाँहरुको शरीरमा आगो सल्किएको थियो ।
दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा ल्याइएको थियो ।