काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राख्न अनुमति भएको छ ।
ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।
काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
जोशीको समूहले माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टमाथि कुटपिट गरेको थियो ।
मध्यराति होहल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोज्दा मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै प्रहरीमाथि नै जाइ लागेका थिए ।
प्रहरीलाई कुटपिट गरेपछि यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
यस्तै, सोहि घटनामा पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।










