२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ

बाढीपहिरोमा परी २०६८ सालयता ८ सय २८ जना बेपत्ता, काजकिरिया भएपनि फर्कि आउने झिनो आस बाँकी

बाढीपहिरोमा परी २०६८ सालयता ८ सय २८ जना बेपत्ता, काजकिरिया भएपनि फर्कि आउने झिनो आस बाँकी
अ अ+ अ-

काठमाडौं अछाम । बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन्। पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ। आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन्। २०६८ सालयता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन्। सबैभन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए। २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ। मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ। ८९ जना अझै बेपत्ता छन्। बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन्। २२ जनाको शव भेटिएको छ।

यही वर्ष सिन्धुपाल्चोकका लिदी, बाह्रबिसे, भोटेकोसीलगायत स्थानमा बाढीपहिरोले २४ जनालाई बेपत्ता बनाएको छ। सिन्धुपाल्चोकमा यही वर्ष ५६ जनाको मृत्यु भएको छ। संखुवासभाको सिलिचोङमा पहिरोमा परेका ११ जना बेपत्ता छन्। अछामको रामारोशनमा ९ जनालाई भेटिएको छैन। म्याग्दीमा ४, कालीकोटमा ६, जाजरकोटमा ५ जना बेपत्ता छन्। काभ्रेपलाञ्चोक, सुनसरी, सिरहा, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, सल्यान, बझाङमा १÷१ जना बेपत्ता छन्। यो वर्ष बेपत्ता भएकाहरू अझै भेटिने सम्भावना रहेको उपसचिव अवस्थीले बताए। सिन्धुपाल्चोकमै २०७१ सालमा जुरेको बाढी र पहिरोले १ सय ६० जनालाई बगाएको थियो। जसमा २५ जनाको शव भेटिएको थियो। बाँकी अहिलेसम्म बेपत्ता छन्। २०७१ साउन १७ गते मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा पहिरो गएको थियो।

बेपत्ता भेटिने सम्भावना न्यून हुन्छ। १० दिनदेखि एक महिनासम्म खोजतलास गरिन्छ। नभेटिए बेपत्ताको सूचीमा राख्ने गरेको जनाइएको छ। ‘१०–१५ दिनदेखि १ महिनासम्म खोजिन्छ’, उनले भने, ‘नभेटिए बेपत्ता सूचीमा राख्छौं।’ ३५ दिनपछि शव नभेटिए मृतकसरह सुविधा दिने निर्णय पनि सरकारले गरेको छ। स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी मृत्युसरह राहत उपलब्ध गराउने नीतिगत निर्णय भएको उनले सुनाए। ‘विगतमा धेरै बेपत्ता सूचीमा राखिदिन्थ्यौं’, उनले भने, ‘जुरेलगायत केही स्थानको स्थानविशेष निर्णय पनि भएका त छन्। तर, पछिल्लो समय स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले खोजतलासका क्रममा नभेटिएको भनेर सिफारिस गरेपछि गृह मन्त्रालयले मृत्युसरह मानी राहत वितरण गर्न थालेका छौं।

मन्त्रालयले यस वर्ष मनसुनमा बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने प्रयोजनका लागि मृतसरह मान्ने व्यवस्था गरेको उनको भनाइ छ। यसअघि गत वर्ष तराई÷मधेसका केही जिल्लाका लागि यस्तो व्यवस्था गरिएको थियो। त्यसअघि जुरे घटनामा मन्त्रिपरिषद्बाटै निर्णय भई मृतसरह घोषणा गरिएको थियो। ‘कानुनी व्यवस्था केही देखिँदैन तर सामाजिक, धार्मिक मान्यताअनुसार १२ दिनसम्म नभेटिए कुशको मान्छे मानी दाहसंस्कार गर्ने मान्यता छ’, एक कानुन व्यवसायीले भने।

‘काजकिरिया भयो, आउने आस बाँकी’

८७ वर्षीय झंकर साउदका कान्छा छोरो नन्दसिंहको पाँच जनाको परिवार भदौ २ गतेको बाढीले बगायो। उनका नाति २७ वर्षीय रमेश, बुहारी बबिता र अर्का नाति १२ वर्षीय नवीनको मात्र शव भेटिएको छ। छोरा र बुहारी गंगा बेपत्ता छन्। उनीहरू फेला नपरेपछि झंकरले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। ‘सन्तानको काजकिरिया कुनै पनि आमाबुवाले गर्न नपरोस्’, रामारोशन गाउँपालिका–५ सैनी निवासी झंकरले भने, ‘म अभागी रहेछु, आफू मर्ने बेलामा छोराको काजकिरिया गर्नुप¥यो।’ बेपत्ताहरू अझै फर्केर आउँछन् कि भन्ने आस भने उनमा रहेछ। नन्दसिंहकी सासू रामारोशन–६ भाटियाकाटियाकी बिमादेवी पनि बेपत्ताकै सूचीमा छिन्। उनी छोरीज्वाइँ भेट्न आएका बेला बाढीमा परेकी थिइन्।

यस्तै, सैनीका भीम साउदका बुवा चन्द्र र आमा बसुन्धरालाई बाढीले बगाएर बेपत्ता बनाएको छ। खोजी गर्दा पनि शव नभेटिएकाले कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिएको उनको भनाइ छ। ‘दाहसंस्कार गरियो तर फर्केर आउँछन् कि भन्ने आस मरेको छैन’, उनले भने, ‘बुवाआमा फर्केर आउँदैनन् भन्ने थाहा छ तर एक मनले मान्दैन। सैनी बजारतिरै छन् जस्तो लाग्छ।’ सैनीकै दीर्घ शाहका भाइ अम्मर, बुहारी पवित्र, भतिज समीर, बहिनी लालसरा र भान्जा पनि त्यही बाढीमा बेपत्ता भए। अम्मर र लालसराको मात्र शव भेटिएको छ। भाइका छोराछोरी सरिता, अनिता र भूपेन्द्रको जिम्मेवारी दीर्घको काँधमा आएको छ। ‘काजकिरिया गरिसक्यौं, भतिजा भतिजीहरू नाबालक छन्’, दीर्घले भने, ‘उनीहरूका आँखा ओभाना भएका छैनन्।’

प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले घटनाको प्रकृति हेर्दा कोही घाइते र जिउँदो फर्किने अवस्था नरहेकाले आफन्तले दाहसंस्कार गर्न पाउने बताए। ‘बाढीमा बेपत्तालाई यति दिनभित्र मृत घोषणा गर्ने भन्ने कुनै नियम र कानुन छैन’, उपाध्यायले भने, ‘आफन्तले आफ्नो तरिकाले दाहसंस्कार गर्न पाउँछन्।’ बेपत्ताको अझै खोजी जारी रहे पनि फेला पार्न नसकिएको उनले बताए। आफन्तले भने बेपत्ताको खोजीमा प्रहरीले सक्रियता नदेखाएको गुनासो गरेका छन्। बाढीले सैनी बजारका ८ परिवारका १७ जनालाई बगाएको थियो। अहिलेसम्म ८ जनाको शव भेटिएको छ। करिब ३० पसल, तरकारी संकलन केन्द्र, विभिन्न संघसंस्थाका कार्यालय पनि बगेका थिए। अन्नपुर्णपोष्ट दैनिक