काठमाडौँ । उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान हुने भएका छन् ।
जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको अदालतले जनाएको छ ।
आदेशपछि उनी कारागार चलान भएका छन् । रौनियार उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी हुन् ।
उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।
अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो ।
२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।