१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नुन र मुटु रोगको सम्बन्ध

नुन र मुटु रोगको सम्बन्ध
अ अ+ अ-

काठमाडौँ । नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ ।

नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ ।

मुटुसँगको सम्बन्ध

नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पु¥याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् । हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ ।

नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ ।

लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ । धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

अन्य देशमा नुनको प्रयोग

सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ ।

विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ । बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ ।

छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ ।

कसरी स्वस्थ्य हुने त?

नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ ।

घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ ।

नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ ।

नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ ।

बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ । (‘मुटुको कथा’ पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा डा राजेन्द्र कोजुसँग गरिएको कुराकानीमा आधारित) रासस