२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेमाथिको थुनछेक बहस आज सकिँदै, के होला आदेश ?



अ+ अ-

काठमाडौं । रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको थुनछेक बहस आज सकिँदै छ ।

गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस गर्न बाँकी छ ।

लामिछाने तर्फका वकिलको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालातर्फका वकिलले जबाफी बहस गर्नेछन् ।

त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् । सम्भवत: आज नै आदेश आउन सक्ने बताइएको छ ।

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।

लामिछाने यसअघि कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।