२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण



अ+ अ-

गण्डकी । कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ ।

एक हजार दुुई वर्षअघि गुरुङ समुदायको बसोबास रहेको  उक्त समुदायका व्यक्तिहरू त्यहाँबाट बसाई सरेको इतिहास रहेको उल्लेख गर्दै क्व्होलासोथारलाई केन्द्रित गरी पदमार्ग निर्माण सुरु गरिएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरिएको उक्त मार्गअन्तर्गत कर्पुडाँडाबाट तोरोडाँडा खण्डमा पदमार्ग निर्माण गरिसकिएको मादी गाउँपालिका वडा नं २ का पूर्वअध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाखबाट उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो । यस खण्डमा रहेको अप्ठ्यारो र उकालो स्थानमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाइएको छ भने केही ठाउँमा माटो काटेर हिँड्न सहज बनाइएको छ । यस खण्डको तीन हजार दुुई सय २० मिटर दूरीको पदमार्गलाई व्यवस्थित गरिसकिएको जानकारी दिँदै उहाँले यस मार्गको गण्डकी प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरिसकेको बताउनुभयो ।

“डिपिआरअनुसार कर्पुडाँडाबाट क्व्होलासोथार पुग्नका लागि २० किलोमिटरभन्दा बढी पदमार्ग निर्माण गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “गुरुङ समुदायको प्राचीन थलोको ऐतिहासिकतालाई यस पदमार्गले पर्यटनसँग जोड्नेछ ।”

परापूर्वकालमा कास्की र लमजुङका बासिन्दा मनाङ आवतजावत गर्न तथा पशुगोठ लिएर लेकबेँसी गर्न प्रयोग गरेको यो मार्ग पछिल्लो समय प्रयोग नहुँदा झाडी र जङ्गलमा परिणत भएको थियो । उहाँले यही बाटोलाई थप स्तरोन्नति गर्दै पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउनुभयो ।

बस्तीदेखि टाढाको जङ्गलमा रहेको यहाँको पदमार्ग निर्माणका लागि ताङतिङका बासिन्दा करिब दुई महिना जङ्गलमै बसेर काम गरेका थिए ।समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइमा अवस्थित कर्पुडाँडा हिमशृङ्खला अवलोकन र हिउँ खेल्नका लागि कास्कीको नयाँ पर्यटकीय गन्तव्य हो । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृ्श्यावलोकन गर्दै पदयात्रा गर्न पाउनु यहाँको विशिष्टता हो ।

यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यको साथै मनास्लु हिमाल, अन्नपूर्ण–२, अन्नपूर्ण–४, अन्नपूर्ण–३ , माछापुच्छे«, मर्दी हिमाल, अन्नपूर्ण साउथ, बुद्ध, मनास्लु, हर्क गुरुङ चुलीको सुन्दर दृश्यले रोमाञ्चक बनाउँछ ।

कर्पुडाँडादेखि नौ घण्टा पैदलयात्रामा पुगिने क्व्होलासोथार जाने पदमार्ग भएर लमजुङको पसगाउँ, सिङ्दी, घलेगाउँ, घनपोखरा, कास्कीको कोरीडाँडा र मनाङ पनि पुग्न सकिन्छ । पदमार्ग निर्माण भएसँगै स्थानीयवासी, पशुगोठ लिएर लेकबेँसी गर्ने गोठाला र पदयात्री पर्यटकलाई सहज हुने उहाँको भनाइ छ ।

गुराँसे जङ्गलको बीचमा रहेको पदमार्गबाट गुरुङ समुदायका पुराना बस्ती, पशुगोठ, तालतलैया र हिमाल हेर्दै हिँड्न पाइन्छ । आगामी दिनमा तोरोडाँडादेखि तप्रा हुँदै क्व्होलासोथारतर्फ जोड्ने थप पदमार्ग निर्माण, मोबाइल फोन सेवा विस्तार र खानेपानीको सुविधाका लागि पहल गरिएको गुरुङले बताउनुभयो ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रुपमा पहिचान गरी यसको प्रवर्द्धन र विकासमा जुटेको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।

“हामीले यस पदमार्गको पहिचानसँगै प्रवर्द्धनका कार्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “गत पुसको दोस्रो साता सङ्घले गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकासँगको सहकार्यमा पहिलो चरणमा उक्त पदमार्गको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ ।” प्रवर्द्धनात्मक पदयात्राका क्रममा देखिएका यहाँका आवश्यकता, चुनौतीसँगै तत्कालै गर्नुपर्ने पूर्वाधार विकासका कामलाई अभिलेखीकरण गरी त्यसको समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने उहाँले बताउनुभयो ।

क्व्होलासोथारबाटै नेपाल र विश्वका विभिन्न ठाउँमा गुरुङ समूदाय फैलिएको बताउँदै उहाँले यस समुदायको इतिहास, वर्तमान र भविष्यलाई जोडेर गुरुङ सम्पदा पदमार्गको परिकल्पना गरिएको उहाँको भनाइ छ ।

क्व्होलासोथारमा पुराना गोलघर, दरबार, घट्ट, घोडा बाध्ने तबेला, भग्नावशेष छन् । पुरातत्व विभागले हालै गरेको उत्खननका क्रममा पौराणिक महत्वका सामग्रीहरू पनि भेटिएका थिए । अहिले यहाँ बस्ती छैन । पाहुनाको सहजताका लागि तीन वटा आश्रयस्थल बनाइएको छ ।

गुरुङ जातिको मुख्य पुर्ख्यौली थलो क्व्होलासोथारसँगै प्राचीन पशुगोठ र नुन लिन जाने मार्गलाई गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो ।

“हामी गुरुङ समुदायको प्राचीन इतिहास र संस्कृतिसँगै यहाँको प्रकृतिलाई गुरुङ सम्पदा पदमार्गमार्फत पर्यटकीय रुपमा जोड्ने अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यो मार्ग महत्वपूर्ण विकल्प बन्न सक्ने हाम्रो विश्वास छ ।”




भर्खरै