२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना



अ+ अ-

ललितपुर । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ ।

राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ ।  महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उहाँले बताउनुभयो ।

लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना उहाँले सुनाउनुभयो । महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुङ्गेधारा छन् ।

आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टङ्ग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मङ्गल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् ।  मङ्गल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन  ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

ललितपुर महानगरपालिका–६ र  वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा ९लँ हिति० अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउनुहुन्छ ।

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनःनिर्माण गरेका थिए । पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक  ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउनुहुन्छ । लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।