२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी



अ+ अ-

वालिङ । यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल हुनुभएको हो । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उहाँ तरकारीखेतीमा होमिनुभएको हो ।

एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गर्नुभएका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । “समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ ।” डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आउनुभएको छ । उहाँले हाल झण्डै छ रोपनी जमिनमा तरकारीखेती गर्दै आउनुभएको छ ।

“तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा छ लाख ५० हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।”

स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उहाँले सुनाउनुभयो । वालिङ–हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताउनुभयो ।

डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहनुभएको छ ।