अमेरिका।अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नीयास्थित रिचमण्ड मेमोरियलमा २१ डिसेम्बरमा पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ सम्पन्न भयो ।
हिमालय फाउन्डेसन कर्प तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसीले आयोजना गरेको अवार्डमा सहभागी हुन नेपालबाट थुप्रै कलाकारहरु पुगे तर नृत्य निर्देशक नरमान राईको गलत कार्यले अवार्ड कार्यक्रममा दाग लागेको छ ।
स्थानीय एक न्यूज पोर्टल लोकल क्राईम न्यूज डटकममा अनुसार कार्यक्रममा सहभागी एक नाबालिक कलाकारमाथी निर्देशक राईले यौन दुर्व्यवहार गरेको र सोही आरोपमा उनि पक्राउ परेको जनाएको छ । राईलाई बिभिन्न ६ ओटा अभियोग लगाईएको र हाल उनि धरौटीमा रिहा भएका छन् ।
अमेरिकामा नै रहेका रंग पत्रकार सुरेश दर्पण पोखरेलले सामाजिक संञ्जाल टिकटकमा पोष्ट गर्नुभएको सामग्री अनुसार राईले आफुले गरेको कार्य प्रति कुनै पश्चाताप गर्नुभएको छैन । यो मुद्दा अदालतमा गएको छ । यदि यो आरोप प्रमाणित भएमा उनिमाथी निकै कडा कानूनी कारबाही हुने छ ।
अवार्डमा सहभागी हुन नेपालबाट अभिनेता नीर शाह,शिब श्रेष्ठ,भुवन केसी,सुनिल थापा,दीपाश्री निरौला,अनमोल केसी,केकी अधिकारी,आँचल शर्मा,नीति शाह,केदार घिमीरे, जितु नेपाल,विल्सन बिक्रम राई,अर्जुनजंग शाही पुगेका थिए । यसैगरी निर्माता,अभिनेता तथा बागमति प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ,संगीतकार चेतन सापकोटा,निर्माता/वितरक उज्वल पौडेललगायत पुगेका थिए ।
स्थानीय रुपमा अबार्ड कार्यक्रमको यज्ञलाल श्रेष्ठ र नेपालबाट नायक शिब श्रेष्ठले संयोजन गर्नुभएको थियो । निर शाह जस्ता मुर्धन्य कलाकारलाई उपस्थित गराईए पनि लाइफ टाइम एचिभमेन्ट अवार्ड आयोजक मध्येका एक लाई नै दिदा मिलिभगत भएको उपस्थित एक कलाकारले गुनासो गर्नुभयो । ती कलाकारका अनुसार अबार्ड प्राप्त गर्ने केही कलाकारको छनौट आफैमा चित्त बुझ्दो त थिएन तर नरमानका कारण सबैको शिर निहुरियो ।
बिदेशमा हुने यस्ता अबार्ड कार्यक्रम कुनै न कुनै रुपमा बिवादित बन्ने गरेको र कलाकारका नाममा अनाधिकृत व्यक्ति लैजाने गरेको आरोप लाग्दै आएको बेला गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ पनि चर्को बिवादमा परेको छ । यदि नरमान कानूनी रुपमा दोषी ठहर भएमा आयोजकहरु माथी पनि प्रश्न उठ्ने नै छ ।