३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा
अ+ अ-

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हँुदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ सय ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ । यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालक पर्यटन व्यवसायी कृष्ण गुरुङले बताउनुभयो ।

सिक्लेसदेखि तासा हुँदै कोरी पुग्ने अर्को पदमार्गसमेत रहेको छ । हुगुमा बिहानको खाजा खाएर हिँडेका पर्यटक दिउँसोको खाना खान नौटाखर्क पुग्छन् । यहाँ चिया पसल छ । कोरी सूूर्योदय र सूूर्यास्त हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको उहाँको भनाइ छ ।

कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउने क्रम निकै बढिरहेको होटल व्यवसायी होम गुरुङले बताउनुभयो ।

“कोरी हिमाललाई जरोदेखि टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने गन्तव्य हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा ठाडो उकालोका कारण थकित बनेका पदयात्रीलाई यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्साउने गरेको छ ।” सिक्लेसबाट तसा हुँदै कोरी पुगेका पर्यटक पुरानै बाटो, नौटा हुगु– कपुचे–हुगु– सिक्लेस, ठुलोलेक–गुरुङ देउराली–तिमाङ, ठुलोलेक–क्होलासोथार–करापुडाडा–याङजाकोट अथवा ताङतिङ भएर यात्रा गर्ने विकल्प छ ।

कपुचे हिमतालसँगै कोरी, क्होलासोँथर र करापुडाँडालाई समेटिएकाले यो पदमार्गलाई ‘फोरके ट्रेक’का रूपमा समेत लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । कोरीको पदयात्रामा जाने पर्यटक पोखराबाट ४१ किलोमिटर दूरीमा रहेको पर्यटकीय गाउँ सिक्लेसबाट त्यसतर्फको यात्रा सुरु गर्दछन् ।

सिक्लेसमा आएका पर्यटकले यहाँस्थित गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेशभूषा, झाँकी आदिको अवलोकन गर्न पाउने मादी –१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो । कोरीको पर्यटकीय सम्भावनालाई उजागर गर्न मादी गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको पुरुयुमबाट कोरीसम्म केबुलकार सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत भइसकेको छ ।

सिक्लेसबाट अन्नपूर्ण हिमालको काँखमा समुद्री सतहबाट दुई हजार चार सय २१ मिटर उचाइमा रहेको कपुचे ताल अवलोकन गर्दै कपुचेमा नै बस्ने वा हुगुमा आएर बस्ने विकल्प छ । त्यहाँबाट पर्यटक कोरीतर्फको यात्रा तय गर्ने उहाँले जानकारी दिनुभयो । कोरीबाट छ हजार नौ सय ८८ मिटर उचाइको लमजुङ हिमाल, सात हजार नौ सय ३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, छ हजार नौ सय ९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र आठ हजार एक सय ५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

कोरी पदयात्रासँगै हिमाल अवलोकनको उपयुक्त गन्तव्य रहेको बताउनुहुने पर्यटक पथप्रदर्शक गङ्गा घले आफूले यस पदमार्गमा धेरै पर्यटकको समूहलाई लिएर आइसकेको बताउनुभयो । “यहाँ आइसकेपछि जोकोही पर्यटक हिमालसहितको मनोरम दृश्य देखेर रमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “जरैदेखि टुप्पोसम्म एकसाथ हिमाललाई नियाल्न पाउनु नै यहाँको प्रमुख विशेषता हो ।”

करिब १० वर्ष अघिसम्म सेताम्य हुने हिमाल अहिले भने खुइलिएको देख्दा आफूलाई धेरै चिन्तित बनाएको बताउँदै उहाँले पहिला सेताम्य हिमाल देखेर गएका विदेशी पर्यटक दोहोर्याएर आउने क्रममा हिमाल खुइलिएको देख्दा चिन्ताले रुने गरेको अनुभव सुनाउनुभयो । “पहिले यहाँबाट देखिने सेताम्य हिमालमा अहिले हिउँ नै छैन”, उहाँले भन्नुभयो, “पछिल्लो १० वर्षयता हिमाली क्षेत्रमा तापमान वृद्धिको धेरै असर परिसकेको छ ।”

हिमाललाई बचाउने नसके हाम्रो पर्यटनमा पनि गम्भीर असर पर्ने बताउँदै उहाँले जथाभावी प्लाष्टिकजन्य वस्तु नजलाउन र वातारण प्रदूषण हुने कुनै किसिमका गतिवधि नगर्न सुझाउनुभयो । कोरीडाँडासहित यस क्षेत्रको पदयात्रा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका रूपमा यहाँको प्रवर्द्धन र विकासलाई जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।

सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहयोगमा पुसको दोस्रो साता सिक्लेसबाट कपुचे, कोरी, क्होलासोथार, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्मको पदयात्रा सम्पन्न गरिएको कार्यक्रम संयोजकसमेत रहनुभएका उहाँले बताउनुभयो ।

प्रवर्द्धनात्मक कार्यक्रममा अवसरमा कोरी र त्यहाँको पर्यटकीय सम्भावना, आवश्यकता आदिबारे स्थलगत पहिचान गरिएको बताउँदै उहाँले त्यहाँ विद्युत्, खानेपानी, सञ्चारलगायत अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताउनुभयो ।

“कोरीमा पर्यटकीय आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “राज्यले उक्त स्थानमा तत्काल बिजुली, खानेपानीका साथै सञ्चार सुविधा पुग्नेगरी व्यवस्था गरिनु अपरिहार्य देखिएको छ ।”