१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्र बचाउन चीनबाट किन नसिक्ने ?



अ+ अ-

चेतनाथ आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको आन्तरिक पर्यटनलाई बढावा दिनका लागि हप्ताको दुई दिन बिदा दिनुपर्ने प्रस्ताव गरेका छन्। विदा प्रस्ताव मात्र गरेर हुँदैन। पर्यटकले ढुक्कसँग घुमफिर गर्न पाउनुपर्ने कुराको ग्यारेन्टी पनि हुनुपर्छ। यसमा गर्नुपर्ने ठूलो कुरा केही छैन। चीनले अपनाएको नीतिबाट सरकारले सिकेर लागू गरेमा त्यसबाट पर्यटन उद्योगले पनि काँचुली फेर्न सक्छ र राष्ट्रिय अर्थतन्त्रले पनि प्राण पाउँछ।
नयाँ कोरोना महामारीका कारण सबैभन्दा पीडित क्षेत्र पर्यटन उद्योग हो। पर्यटन उद्योगभित्र हवाइ उड्डयन,होटल तथा रेष्टुरेन्ट,ट्रेकिङ,र्‍याफ्टिङ,हिमाल आरोहण,प्याराग्ल्याडिङ,क्युरियो व्यापार लगायतका विविध पक्षहरु जोडिएका हुन्छन्। यी क्षेत्रहरु यतिबेला थला परेका छन्। नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले महत्वपूर्ण टेवा दिँदै आएको छ। तर विगत ७ महिनादेखि नेपालको पर्यटन क्षेत्र थला परेको छ।
त्यसो त नेपालको पर्यटन क्षेत्र मात्र होइन विश्वकै पर्यटन क्षेत्रलाई कोरोना महामारीले मृत्युशैयामा पुर्‍याएको छ। यति हुँदा हुँदै पनि चिनियाँ पर्यटन बजार भने जर्मुराउन थालेको छ। चिनियाँ पर्यटन बजारमा सक्रियता आउनाले नेपाली पर्यटन क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पर्ने गर्छ। विगत दुई दशकदेखि नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरु आधार स्तम्भ बन्दै आएका छन्। नेपालको पर्यटन क्षेत्रको अफसिजनमा पनि चिनियाँ पर्यटकले चलायमान राखेको कुरा जगजाहेर छ।
चीन नयाँ कोरोना भाइरस सबैभन्दा पहिले देखिएको स्थान हो। जतिबेला चीन कोरोनाबाट आक्रान्त बनेर अस्तव्यस्त थियो त्यतिबेला नेपालका तालुकदार मन्त्रीहरु नेपाललाई कोरोना मुक्त राष्ट्र घोषणा गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउने उद्घोष गरिरहेका थिए। यतिबेला अवस्था ठीक उल्टो भएको छ। नेपाल कोरोना महामारीका कारण अस्तव्यस्त छ भने चीन पर्यटन क्षेत्रलाई सक्रिय बनाउँदैछ ।
चालु वर्षको अक्टोबर १ तारिख चिनियाँ राष्ट्रिय दिवससँगै चिनियाँ चाड मध्यशरद चाड पनि परेको थियो। यसर्थ सधैँको भन्दा एक दिन बढी विदा खप्टिएकाले चिनियाँहरु घुमफिरमा निस्किएका छन्। गत बिहीबारदेखि आगामी बिहीबारसम्म चीनमा सार्वजनिक विदा भएकाले कोरोना महामारीपछि व्यापक रुपमा मानव आवतजावत देखिएको छ। बीबीसीका अनुसार यो विदाका अवसरमा चिनियाँहरुले ६० करोड ट्रिप यात्रा गर्नेछन्। चिनियाँ नयाँ वर्ष वसन्त चाडमा हुने आवातजावत विश्वकै सबैभन्दा ठूलो मानिन्छ। त्यसपछिको सबैभन्दा लामो विदा रहेको अक्टोबर दिवसलाई घरपरिवारबाट टाढा रहेका चिनियाँहरुले परिवारसँग भेटघाट गर्ने र घुमफिर गरेर बिताउँछन्। गत जनवरी २५ तारिख परेको चिनियाँ नयाँ वर्षको थालनीको एक दिन अगाडि नयाँ कोरोनाको संक्रमण देखिएको चीनले हुपेई प्रान्त र त्यस आसपासका क्षेत्रलाई लकडाउन गरेको थियो। चीनका अन्य क्षेत्रमा पनि व्यापक संत्रास बढेको र अधिकांश पर्यटकीय स्थल बन्द गरिएकाले चिनियाँ पर्यटन क्षेत्र वर्तमान नेपालको जस्तै बनेको थियो।
कोरोना संक्रमणलाई सफल रुपमा नियन्त्रण गर्दै व्यवस्थित पर्यटन क्षेत्र खोलेको चीनमा अहिलेको चहलपहलले केही सन्देश दिएको छ। सरकारले चाहने हो भने व्यवस्थित र निगरानीमा पनि पर्यटन क्षेत्रलाई संचालन गर्न सकिन्छ भन्ने कुराको ठूलो शिक्षा हो चीनको अहिलेको अवस्था।
चालु वर्षका ८ महिनामा घरमै कुँजिएर रहेका चिनियाँहरुको वर्तमान घुमफिर अर्थतन्त्र र पर्यटन क्षेत्रका लागि निकै उत्साहप्रद रहेको छ। राष्ट्रिय दिवस र मध्यशरद चारको लामो बिदामा चिनियाँहरुको उपभोग उत्साह एकदमै उच्च देखिन्छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार, लामो बिदाको पहिलो दिनमा घुम्न निस्केका चिनियाँ पर्यटकको संख्या ९ करोड ७० लाख पुगेको छ। एक सातमा यो संख्या बीबीसीले अनुमान गरे अनुसार ६० करोड आसपास पुग्ने देखिन्छ। चीनले एकै दिनमा आन्तरिक पर्यटकबाट ७६ अर्ब ६५ करोड चिनियाँ युआनको आम्दनी गरेको छ। यसबाट के प्रमाणित हुन्छ भने निरन्तर रुपमा पुनःसमृद्ध हुँदै आएको उपभोगबाट चीन क्रमशः आन्तरिक रुपमा ठूलो चक्रवद्ध मुख्य क्षेत्र रहेको र देशभित्र तथा बाहिर पनि दोहोरो चक्रबद्ध हुने विकासको नयाँ प्रारुप बन्न सघाउ पुग्नेछ।
सन् २००८ मा अन्तर्राष्ट्रिय बैकिङ संकट देखा परेयता विश्व अर्थतन्त्रमा गहन समन्वयको अवधिमा रहँदै आएको छ। नयाँ कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा सन् २००८ को भन्दा व्यापक असर पर्ने बताइँदै आएको बेला चीनले विश्व अर्थतन्त्र बचाउन महत्वपूर्ण खम्बाको काम गर्नेछ भन्ने आशा गर्न सकिन्छ। अहिले नयाँ कोरोना महामारी, अमेरिकाले सुरु गरेको एकपक्षीयतावाद र संरक्षणवादले विश्व उत्पादन व्यवसायको आपूर्ति शृङ्खलालाई नकारात्मक प्रभाव पारेको छ। यसले विश्व अर्थतन्त्रको पुनः उत्थानको बाटोलाई थप जटिल र अप्ठ्यारो बनाउँदै लगेको अर्थविदहरुले बताउँदै आएका छन्। यस्तो अवस्थामा चीनको अर्थतन्त्रले उज्यालो र सकारात्मक वातावरणको सिर्जना गरेको छ।
चालु वर्षको पहिलो त्रैमासिक अवधिमा चीनको अर्थतन्त्रमा निकै ठूलो असर गरेको थियो तर गत अगष्ट महिनादेखि नै चीनको अर्थतन्त्र पहिलेभन्दा राम्रो अवस्थामा पुगेको तथ्याङ्कले देखाएको छ। यस्तो परिवर्तनले विश्व अर्थतन्त्रका लागि नयाँ आशा पनि ल्याएको छ।
नेपालसँग सिमा जोडिएको चीनको पर्यटन नीतिबाट नेपालले धेरै कुरा सिक्न सक्छ। यातायातलाई सुव्यवस्थित गर्ने, मोबाइल एपबाट हरेक व्यक्तिको यात्रा निगरानी राख्ने, संक्रमण हुने खतरा व्यवस्थापनमा प्रविधि र दक्ष जनशक्ति परिचालन गर्ने, हरेक नागरिकलाई सचेत गराउने, मास्क र सेनिटाइजरलाई अनिवार्य गराउने, होटल तथा पर्यटकीय क्षेत्रमा सुरक्षा जाँच तथा स्वास्थ्य परीक्षणलाई अनिवार्य गर्दै नागरिकलाई पनि आफ्नो जिम्मेवारी बहन गर्न सिकाउने कुरा अहिले चीनले अँगालेका विषय हुन्। सरकारसँग व्यापक श्रोत र साधन हुन्छ,त्यसलाई नागरिकको हितमा परिचालन गर्नु सरकारको दायित्व हो।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट