वासिङ्टनः अमेरिकी राष्ट्रपतिको चुनाव हुन एक महिना पनि बाँकी छैन । अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन चुनाव हुँदैछ । यस्तो अवस्थामा राष्ट्रपतिका दुबै उम्मेदवारले सारा शक्ति स्वीङ स्टेट माथि लगाएका छन् । यी राज्यमा राष्ट्रपतिका दुबै उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच प्रतिस्पर्धा निकै कडा छ । परम्परागत रुपमै यी राज्यका मतदाताहरुले रिपब्लीकन या डेमोक्रेटिक पार्टीमध्ये कुनै पनि दललाई मत दिन सक्छन् र यसले चुनावी नतिजालाई नै प्रभावित पार्ने गरेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन ५३८ प्रतिनिधि (इलेक्टोरल कलेज) मध्ये कम्तीमा २८० प्रतिनिधि प्राप्त गर्नु पर्दछ ।
मिडिया रिपोर्ट अनुसार राष्ट्रपतिको कुर्चीमा विराजमान गराउने यी सात स्वीङ स्टेटमाथि लक्षित गरी चुनावी प्रचारमा राष्ट्रपतिका दुबै उम्मेदवारले जोडबल लगाएका छन् । पछिल्ला मतसर्वेक्षणले यी राज्यमा राष्ट्रपति ट्रम्पभन्दा जो बाइडेन अगाडि रहेको देखाएका छन् तर मतान्तर निकै झिनो छ ।
१. ओहायोः यस राज्यले १८ इलेक्टोरल कलेज (प्रतिनिधि) छनौट गर्दछ । दुबै उम्मेदवारले त्यही कारण ओहायो राज्यका बारेमा आआफ्ना दृष्टिकोण अगाडि सारिरहेका हुन्छन् । ट्रम्पले आफूले लिएका नीतिका कारण सन् २०१९ मा ओहायो राज्यले धेरै प्रगति गरेको दाबी गरेका छन् भने बाइडेनले ओबामा प्रशासनका समयमा लिएका नीतिले अटो म्यानुफ्याक्चरिङ क्षेत्र बच्न सफल भएको दाबी गरिरहेका छन् । ओहायो राज्यलाई अमेरिकाको अटोमोबाइल म्यानुफ्याक्चरिङको हब मानिन्छ ।
२. नर्थ क्यारोलिनाः मतसर्वेक्षणले आगामी राष्ट्रपति चयनमा यस राज्यको योगदान ३.१ प्रतिशत रहेको देखाएका छन् । बाइडेनले यस राज्यबाट १५ इलेक्टोरल मत प्राप्त गर्ने सम्भावना देखिएको छ ।
३. एरिजोनाः एरिजोना राज्यमा सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्प र हिलारी क्लिन्टनको मत अंश ५०–४५ थियो । त्यसैले करिब ५ प्रतिशत व्यक्तिले चुनावी नतिजा कुनै पनि उम्मेदवारका पक्षमा लैजान सक्छन् ।
४. मिसिगनः यस राज्यले राष्ट्रपति चयन गर्न झण्डै ९ प्रतिशत भूमिका निर्वाह गर्दछ । सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनमाथि केबल ०.२ प्रतिशत मात्र बढी मत प्राप्त गरेका थिए । यस पटक जनमत सर्वेक्षणहरुले बाइडेनलाई अगाडि देखाइरहेका छन् ।
५. फ्लोरिडाः यस राज्यले राष्ट्रपति निर्वाचित गराउन १४.३ प्रतिशत योगदान गर्दछ । सन् २०१६ मा यस राज्यमा दुबै उम्मेदवारले ४९–४९ प्वाइन्टको अन्तर थियो, अर्थात् अति झिनो मतान्तरले ट्रम्प विजयी भएका थिए । यसपटक बाइडेनले जित्ने सम्भावना ६२.५ प्रतिशत देखिएको छ ।
६. पेन्सिलभेनियाः स्वीङ स्टेटका रुपमा यो सबैभन्दा ठूलो राज्य हो । यो राज्यले यसपटक राष्ट्रपति चयनमा निर्णायक भूमिका खेल्नेछ । यो राज्यमा बाइडेनले जित्ने सम्भावना ७५ प्रतिशत रहेको मत सर्वेक्षणले देखाएका छन् ।
७. विस्कन्सिनः यो राज्यले राष्ट्रपति चयनका लागि १३.४ प्रतिशत योगदान गर्न सक्दछ । यो राज्यमा पनि बाइडेनले करिब १४ प्वाइन्टको अग्रता बनाइरहेका छन् ।
सर्वेक्षणमा बाइडेनलाई १४ प्रतिशतको अग्रता
चुनावी मतसर्वेक्षणले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा विपक्षी डेमोक्रेटिक पार्टीका जो बाइडेनले देशव्यापी रुपमा करिब १४ प्रतिशत प्वाइन्टले अग्रता बनाइरहेको देखाएका छन् ।
सन् २०१६ को चुनावमा पपुलर भोटमा हिलारी क्लिन्टन अगाडि रहेपनि पर्याप्त इलेक्टोरल कलेज प्राप्त गर्न नसक्दा पराजित भएकी थिइन् । त्यसबखत चुनावी मतसर्वेक्षणले क्लिन्टनलाई नै अगाडि देखाएका भएपनि ट्रम्पले चुनाव जितेका थिए । यसपटक परिस्थिति भिन्न छ । अमेरिकामा २ लाखभन्दा बढी मानिसको कोरोनाभाइरस महामारीबाट मृत्यु भइसकेको छ भने बेरोजगारी बढेको छ र अर्थतन्त्रमा संकट छाएको छ ।
(फाइब थर्टी एट)











