२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोरको पनि थुप्रो

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोरको पनि थुप्रो
अ अ+ अ-

काठमाडौँ । मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पविकसित मुलुक थप सङ्कटमा पर्नसक्ने एक अध्ययनले जनाएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु)को हालै प्रकाशित ‘ई–वेस्ट एन्ड सर्कुलर इकोनोमी’ नामक प्रतिवेदनले नेपालमा सन् २०१९ मा मात्रै २४ लाख किलोग्राम (२४ किलो टन) अर्थात् प्रतिव्यक्ति नौ सय किलोग्रामभन्दा बढी विद्युतीय फोहोर उत्सर्जन भएको छ । नेपालमा विद्युतीय फोहोरको उत्सर्जन बढ्दै गए पनि यसलाई नियन्त्रणका लागि आवश्यक कानुन तथा नीतिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि दक्षिण एसियाली मुलुकको तुलनामा प्रतिव्यक्ति विद्युतीय फोहोर उत्पादनमा भने नेपालको स्थान तलै छ ।

नेपालभन्दा तल रहेको अफगानिस्तानमा प्रतिव्यक्ति छ सय ग्राम मात्रै विद्युतीय फोहोर उत्सर्जन भइरहेको छ भने श्रीलङ्कामा सबैभन्दा धेरै छ किलो चार सय ग्राम उत्सर्जन भइरहेको छ । नेपालकै तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनासम्म सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा मोबाइल सबैभन्दा अगाडि छ । साउन र भदौमा मात्रै गरेर नेपालले करिब आठ अर्ब रुपियाँका नौ लाख ९५ हजार थान मोबाइल आयात गरेको छ । त्यस्तै दुई महिनामा मात्रै ९३ करोड रुपियाँका १७ हजार ल्यापटप आयात भएको भन्सार विभागको तथ्यांक छ । प्रतिवेदनअनुसार विश्वव्यापी विद्युतीय फोहोरको अवस्था झन् सङ्कटोन्मुख छ । सन् २०१९ मा मात्रै विश्वभर पाँच करोड ३६ लाख मेट्रिक टन यस्तो फोहोर उत्सर्जन भएको छ । जुन चार वर्षअघि सन् २०१६ मा चार करोड ८२ लाख मेट्रिक टन थियो । सन् २०३० सम्म यस्तो फोहोरको परिमाण सात करोड ४० लाख मेट्रिक टन पुग्ने अनुमान पनि गरिएको छ ।

फोहोर उत्पादन एसिया सबैभन्दा अगाडि छ, जहाँ सन् २०१९ मा मात्रै दुई करोड ४९ लाख मेट्रिक टन फोहोर उत्पादन भएको छ । त्यसपछि अमेरिकामा १३.१, युरोपमा १२, अफ्रिकामा २.९ र ओसेनियामा ०.७ मेट्रिक टन फोहोर उत्सर्जन भएको प्रतिवेदनमा उल्लेख छ । छिमेकी मुलुक चीन सबैभन्दा धेरै विद्युतीय फोहोर उत्पादन गर्ने देशमा परेको छ, जहाँ सन् २०१९ मा मात्रै १० हजार १२९ किलो मेट्रिक टन फोहोर उत्सर्जन भएको छ । विश्वमा ७८ देशले मात्र विद्युतीय फोहोर सङ्कलन गर्ने नीति कार्यान्वयनमा ल्याएका छन् ।
विद्युतीय फोहोरको पुनः प्रयोगसँग सम्बन्धित नीतिको अभावमा ठूलो रकम खेर गएको पनि प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ मा उत्सर्जन भएको कुल फोहोरमध्ये केवल १७.४ प्रतिशत अर्थात ९३ लाख मे. टन मात्र पुनः प्रयोग गरिएको तथ्याङ्क छ ।

विश्वभर उत्सर्जन हुने यस्तो फोहोरको ठूलो मात्रा सङ्कलन नहुने अवस्था रहेको प्रतिवेदनले जनाएको छ । विद्युतीय फोहोरबाट कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने वस्तु सङ्कलन गर्न सकेको अवस्थामा मात्रै सन् २०१९ मा ५४ अर्ब डलर आम्दानी हुन सक्ने प्रतिवेदनमा अनुमान छ । यद्यपि पुनः प्रयोग गरिएको ९३ लाख मेट्रिक टन फोहोरबाट १० अर्ब डलर बराबरको कच्चा पदार्थ प्राप्त भएको पाइएको छ । विद्युतीय फोहोरमा समावेश हुने मर्करी, क्लोरोफ्लोरो कार्बन स्वास्थ्यका हिसाबले जोखिमपूर्ण मानिन्छ । यसबाहेक विश्वव्यापी जलवायु परिर्वतनमा पनि यसको भूमिका हुने र समग्र वातावरणीय स्वास्थ्यका हिसाबले पनि यस्ता फोहोरले खराब असर गर्ने उल्लेख छ । गोरखापत्र दैनिक