काठमाडौं । हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको टोली र प्रहरीबीच झडप भएको छ। कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको हो । झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्।
गत २२ गते सिसौट रामनगर गाउँपालिकामा टोल- टोलबीच ढुंगामुढा हुँदा ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन्।
बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा सिसा फुटेका छन्।
‘हाम्रो तर्फबाट भीड नियन्त्रण गर्न लाठी चार्ज भएको छ,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले भने।
मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न मागिरहेका छन्। उनीहरूले घटनामा संलग्न नभएका मानिसलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेको सिंहले बताए।











