३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का

भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
अ+ अ-

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।

पिके डाँडाको पर्यटकीय महत्व र सम्भावना

समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ । साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् । जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् ।

पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । “सगरमाथा बेसक्याम्पको तुलनामा यो क्षेत्र सहज पदयात्रा गन्तव्यका रूपमा विकास भएको छ तर सञ्चार सेवाको अभावले यहाँको पर्यटकीय सम्भावनामा ठूलो असर गरेको छ”, उहाँले भन्नुभयो ।

सञ्चार नै चुनौती

सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताउनुभयो । “कतिपय पर्यटक भ्रमणका क्रममा साथीसँग सम्पर्क टुट्दा रातभर हराउने गरेका छन्, फोन गर्दा फोन लाग्दैन, जसले उद्धारमा समेत समस्या हुन्छ”, शेर्पाले भन्नुभयो ।

पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो । खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उहाँको शव भेटिएको थियो ।

यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो । सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उहाँको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय बताउछन् ।

धार्मिक आस्थाको केन्द्र : ज्वालामाई मन्दिर

सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ । मन्दिर व्यवस्थापन समितिका सदस्य भिमनारायण श्रेष्ठले भन्नुभयो, “मन्दिरमा आउने भक्तजनले यात्रा गर्दा नेटवर्कको गुनासो गर्ने गरेका छन् । यत्रो प्रसिद्ध मन्दिर क्षेत्रमा समेत भरपर्दो सेवा उपलब्ध गराउन नसक्नु कमजोरी हो ।”

यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उहाँले बताउनुभयो ।

स्थानीयको गुनासो

सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दु:खद भएको बताउनुभयो ।

स्थानीय बाबुराम घिमिरेले भन्नुभयो, “सडक र बिजुलीजस्तै सञ्चार पनि आजको युगमा आधारभूत आवश्यकता हो तर यो सुविधा नहुनुले हामीलाई पछि पारेको छ । सदरमुकाम सल्लेरीसँग नजिक भए पनि यो क्षेत्र अझै सञ्चार उपलब्धिबाट लाभान्वित हुनसकेको छैन ।”

राज्यको प्रयास

नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन ।  सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । “पिकेडाँडा र ज्वालामाई क्षेत्रको समस्यालाई सम्बोधन गर्न नयाँ टावर स्थापना गर्न आवश्यक छ । यसका लागि थप बजेट र पूर्वाधार विकास गर्नुको विकल्प छैन”, कार्यालय प्रमुख रानाले भन्नुभयो ।

वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा भने वडामार्फत बारम्बार ध्यानाकर्षण गराउँदा पनि ठोस नतिजा नआउनु नियमनकारी निकायको उदासीनता भएको गुनासो गर्नुहुन्छ । “पर्यटकीय र धार्मिक महत्व बोकेको क्षेत्रमा भरपर्दो सञ्चा सेवा नहुनुले स्थानीय र पर्यटक दुवैलाई असर गरिरहेको छ”, उहाँले भन्नुभयो,“पिके डाँडा र ज्वालामाई मन्दिरजस्ता गन्तव्यको महत्वलाई ध्यानमा राख्दै दिगो सञ्चार सेवा उपलब्ध गराउनु अपरिहार्य छ । जसका लागि स्थानीय सरकार र जननिर्वाचित प्रतिनिधिको हैसियतले आफू सहयोग गर्न तयार छु ।”

पर्यटन व्यवसायी दावा शेर्पा पनि यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गर्नुहुन्छ । रासस