२४ मंसिर २०८१, सोमबार
,
Latest
अन्तर्राष्ट्रिय अदालतमा आरजुले भनिन्- नगरेको गल्तीको सजाय भोग्दैछौं नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय रवि लामिछानेमाथि प्रहरीले गरेको दुर्व्यवहारबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु रास्वपा सभापति लामिछानेलाई पर्सा ल्याइयो मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयोः प्रधानमन्त्री ओली नङकटमा चक्कु किन राखिन्छ ? आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्, गणतन्त्र हरेक किसिमले उत्तम छः प्रदीप ज्ञवाली हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु रूसमा सिरियाली राष्ट्रपति असद भए नभएको पुष्टि गर्न क्रेमलिनद्वारा अस्वीकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको हल्का टिप्पणी र कूटनीतिक मजाक



फाईल फोटो
अ+ अ-

काठमाडौं । यतिखेर माओवादी केन्द्रका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्ति निकै चर्चामा छ । हुनत उनी अहिले जनताका बीचमा गएको बताउँदै दिनदिनै केही न केही नयाँ कुरा गरिरहेका छन्, सरकारलाई दोषारोपण गर्दै । तर अहिले उनले दिएको एक अभिव्यक्तिले उनलाई विवाद पनि पारेको छ र बजारमा बहस पनि सिर्जना गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीले चाइना कार्ड खेल्न लागेको भनेर उनले राखेको धारणा नै अहिलेको विरोध र विवादास्पद अभिव्यक्ति बनेको धेरैको बुझाई छ ।

प्रधानमन्त्री ओली यसै महिनाको मध्यतिर औपचारिक भ्रमणका लागि चीन जाँदै छन् । उनी यही मंसिरको १७ गते चीन प्रस्थान गर्ने लगभग निश्चित भएको छ र सोही बमोजिम परराष्ट्र मन्त्रालयले तयारी पनि थालेको छ । प्रधानमन्त्री कार्यालय आसन्न चीन भ्रमणका क्रममा राख्नुपर्ने एजेण्डका लागि जुटेको छ भने नेपालका सबैजसो मन्त्रालयसँग यसअघिको अवस्था र अब राख्नुपर्ने मागहरुका बारेमा एजेण्डाहरु पनि सरकारले मागेको छ ।

ओली प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमणका रुपमा उनी चीन जाँदै छन् । उनी गत असोजको सुरुमा संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका गएका थिए भने अहिले यो दोस्रो भ्रमणका क्रममा चीन जाँदैछन् । योसँगै एक नयाँ विषयको प्रसंग पनि बजारमा बहसमा भने छ । किनभने यसअघिका प्राय नेपालका सबैजसो प्रधानमन्त्रीहरु आफ्नो पहिलो विदेश भ्रमणका रुपमा भारत जाने गरेकोमा यसपटक ओली चीन जान लागेको हुन् ।

तर यतिमात्र नभएर माओवादी अध्यक्ष प्रचण्डले भने यो प्रसंगलाई निकै फरक र अस्वाभाविक रुपमा टिप्पणी गरेका छन् । उनले ओलीलाई चीन भ्रमणमा जान लागेकामा पहिला भारत नगएर चीन गएको भन्दै ओलीले नेपालमा चाइना कार्ड प्रयोग गरेको भन्ने सम्मको टिप्पणी गरेका छन् । नेपालको कूटनीतिक बजारमा केही दिनअघिसम्म भारतले नेपालका प्रधानन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठायो या पठाएन भन्ने चर्चा थियो ।

यो पनि पढ्नुहोस- प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

अहिले त्यो चर्चा पनि सेलाएर अब चीन भ्रमणको तयारीमा सिंगो कूटनीतिक बृत्त पनि जुटेको देखिएको छ । किनभने सो बृत्तका जानकारहरु भन्छन्, भारत र चीन नेपालका दुई ठूला छिमेकी देश भएकाले हामीले दुबैको मान र सम्मानलाई एकै कोटिमा राख्न सक्नुपर्छ । हाम्रा कूटनीतिक एवं भूराजनीतिक अवस्था र अवस्थितिले यो दुवैतर्फ बराबर रुपमा सन्तुलनमा राख्न सक्नुपर्छ । नेपालको आर्थिक र सामाजिक जीवनमा यी दुवै देशको भूमिका समान रहेको छ ।

प्रधानमन्त्री ओलीलाई यस पटक भारतभन्दा पहिला चीनले निमन्त्रणा दियो उनी त्यतै जान थाले । भोलि चीनबाट फर्र्किएपछि भारतको निमन्त्रणा आयो भने भारत पनि प्रधानमन्त्री ओली जान्छन् नै । फेरि वर्तमान सरकार आफै भारत जाने भन्दा पनि यसपटक भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेको छ भन्ने अभिव्यक्ति सरकारकै आइरहेको छ । भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि प्रधानमन्त्री ओलीको निमन्त्रणा भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेको र उहाँले उपयुक्त समय मिलाएर आफू नेपाल आउने कुरा बताएको भनेकी थिइन् ।

हाम्रा लागि समान रहेका दुई छिमेकी मुलुकको कूटनीतिक संवेदनशीलताको ख्याल नै नगरी माओवादी अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिनु कत्तिको जायज हो ? यसले भारतको पक्ष बोलिदिएको भन्ने अर्थ उनी आफैले लगाए पनि यता चीनतर्फको सम्बन्धमा असर गर्छ कि गर्दैन ? तीन तीन पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले चीन र भारतलाई यसरी आपसमा तौलेर यस्तो धारणा सार्वजनिक गर्न मिल्छ कि मिल्दैन ?

उनको यस्तो हल्का अभिव्यक्तिले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको राष्ट्रको कूटनीतिक सम्बन्धको मजाक हुन्छ कि हुँदैन ? हो, उनको वर्तमान सरकारसँग अथवा एमाले होस् या अन्य पार्टी विशेषसँग असहमति होला । अनि यस्तो असहमतिलाई कूटनीतिक मजाक गरेर यसप्रकारको हल्का अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? यतिखेर उनको आफ्नै पार्टीका यस क्षेत्रका व्यक्तिहरुले पनि यो प्रश्न गरिरहेका छन् ।

उनी गत असारको अन्त्यतिर सरकारबाट हट्नुपर्यो । नेपाली काँग्रेस र एमाले मिलेर वर्तमान सत्ता गठबन्धन बन्यो र उनी सत्ताबाट हट्नुपर्यो । सत्ताबाट निस्किनुपरेपछि उनले त्यतिबेलै आफूलाई र आफूलाई मात्र नभएर बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई पनि अमेरिकाले सत्ताबाट हटाएको बताएका थिए । त्यस समय उनको यो अभिव्यक्तिको पनि निकै विरोध भएको थियो ।

तर अहिले त त्यो भन्दा पनि अझ गम्भीर र संवेदनशिल रुपमा प्रचण्डले प्रधानमन्त्री ओली पहिला भारत जानुपर्नेमा भारतले निम्ता नदिएपछि चीन जान लागेका मात्र भनेका छैनन् ओलीले चीन कार्ड खेलेको प्रतिक्रिया नै दिएका छन् । उनको यो गैरजिम्मेबार अभिव्यक्ति हल्का मात्र होइन कि गम्भीर गैरजिम्मेबार पनि हो । आफू सत्ताबाट निस्किनुपर्ने कारणलाई विदेशीको दोष भनेर देख्ने प्रचण्डको दोषी चश्माले उनको र उनको पार्टीको त भलो गर्दैन नै यसले नेपालको भूराजनीतिक संवेदनशीलतामा पनि ठूलो असर पार्ने देखिन्छ ।