१० कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको आज खबरदारी सभा, जुलुसको नेतृत्व प्रचण्डले गर्ने



अ+ अ-

काठमाडौं । सरकार गठन भएको एक सय दिन वितेलगत्तै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज आन्दोलनका कार्यक्रम सुरु गरेको छ । माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णत: असफल रहेको निष्कर्ष निकालेको माओवादीले खबरदारी सभा गर्न लागेको हो । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने दाबी माओवादी केन्द्रको छ ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी छ ।

माओवादी केन्द्रले आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने छ । अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन् । झण्डा, व्यानहरूको सबै तयारी पुरा भइसकेको छ ।

माओवादी केन्द्रले जनप्रदर्शनको लगभग सबै तयारी पुरा भएको जनाएको छ । बाहिरबाट धेरै जुलुस ल्याउँदा सर्वसाधारणलाई अप्ठ्यारो हुने र ट्राफिक जाम हुने समस्या हुने भएकाले यसपटक फरक तरिकाले विरोध गर्न लागिएको माओवादीको भनाइ छ ।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै साढे १२ बजे भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ । करिब २ घण्टामा कार्यक्रम सक्ने तयारी छ । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् ।

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ ।