८ कार्तिक २०८१, बिहीबार
,
Latest
सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछः स्वास्थ्यमन्त्री पौडेल विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छः मन्त्री अधिकारी माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिजअघि नै कमायो १०८५ करोड पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो दक्षिण अफ्रिकी बलर ल्याङ्ग चितवन राईनोजमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय



अ+ अ-

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुनुहुन्छ । यो उमेरमा उहाँले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले ४० रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । तरकारीबाटै वार्षिक रु १० लाख आम्दानी लिने गरेको उहाँले बताउनुभयो । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आउनुभएको छ । हाल उहाँको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उहाँ बताउनुहुन्छ । “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उहाँ भन्नुहुन्छ, “यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन ।”

खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उहाँले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्नुहुन्छ । उहाँको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताउनुभयो ।

उहाँले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिनुभएको छैन । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा हुनुहुन्छ ।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उहाँको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उहाँको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उहाँ बताउनुहुन्छ । “कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?”, उहाँले भन्नुभयो ।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उहाँको सुझाव छ ।