८ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणको बोर्ड बैठक आज, उद्योगीको बक्यौताबारे के होला निर्णय ?



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगी व्यवसायीलाई बाँकी बक्यौता भुक्तानी गर्न दिएको समय सकिएकै दिन आज बोर्ड बैडक बस्दै छ । उर्जा मन्त्रीको अध्यक्षता रहने प्राधिकरणको बोर्ड बैडक बिहान ९ बजेका लागि बोलाइएको हो ।

ऊर्जा मन्त्री अध्यक्ष हुने बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य–सचिव हुन्छन् ।

बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने छ ।

नेपाल विद्युत प्राधिकरणले दशैंको फूलपातीको दिन अर्थात् २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को महसुल तिरेका छैनन् । प्राधिकरणले त्यस्ता उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको थियो ।