७ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीबाट सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे सम्बोधन एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता हुने सुस्ताको सास्ती नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु



अ+ अ-

काठमाडौँ । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ ।

विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् ।

विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरु पनि सास्ती व्यहोरिरहेका छन् । सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ ।

स्थलगत रिपोर्टिङका क्रममा न्युज एजेन्सी नेपालले विपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उहाँले ४÷५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताउनु भयो ।

तत्काल बाटो बन्छ जस्तो उहाँलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले विपी राजमार्ग हुँदै नै जान छिटो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४÷५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । शुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’

सोही क्रममा भेटिनुभएकी रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले काठमाडौंका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिनुभएका मोटरसाइकल चालकसँग कुरा गर्दा उहाँले आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताउनु भयो ।

उहाँले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गर्नुभयो । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ ।’

बाढी, पहिरोका कारण विपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।