७ कार्तिक २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज सय दिने प्रगति विवरण सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगति विवरण आज सार्वजनिक गर्नुहुने भएको छ । गत असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओली सरकारका सबै मन्त्रीले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । प्रधानमन्त्रीसँग भएको मन्त्रीहरूको सम्झौतामा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी मन्त्री र सचिव तथा प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबिच पनि कार्यसम्पादन सम्झौता भएको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गरिने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

सर्वसाधारणको चासो र सरोकार रहेका सरकारी कार्यालयको सेवा प्रवाहमा कुनै सुधार हुन नसकेको सेवाग्राहीहरूको गुनासो कम भएको छैन । त्यस्तै सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण तथा आर्थिक अवस्था चलायमान पार्ने ठोस योजना सार्वजनिक गर्न सकेको छैन । यसको अलावा असोज १२ गतेको प्राकृतिक विपतमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो त्यतिकै छ ।