१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी

घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी
अ अ+ अ-

काठमाडौँ । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ । तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्नमा व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् । मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयश्रोत नै फूलको व्यापार हो ।

किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं)लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए । भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउनु हुन्छ । अहिलेसम्म २५ हजार रुपैयाँ जतिको माला विक्री गरिसकेको बताउनु भयो । उहाँले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताउनु भयो । एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताउनु भयो । स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गर्नुहुन्छ । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उहाँलाई छ । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताउनु भयो । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँ भन्दा बढी नदिने गरेको गुनासो उहाँको छ । दुःख र मेहनतअनुसार मूल्य नभएको बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘भाउ कहिले पनि बढेन । आउँदा हामीले २५ भनेपनि २० देखि दिन्न भन्छन्, उनीहरु बाहिर पठाउँदा बढी नाफा खान्छन्, हामीलाई २० बाट कहिले नि बढाउँदैनन् । अहिले पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानु पर्दैन भन्ने मात्रै हो । यहाँ नै आउँछन् । पहिला हामी भक्तपुर बेच्न जान्थ्यौँ । दुःख र मेहनतअनुसार मूल्य छैन ।’

कार्कीकाअनुसार फूलको खेती गरेर माला बनाउनसके धान भन्दा नाफा हुन्छ । २० वर्षदेखि फूलको माला बनाउँदै आउनुभएकी गुण्डुकै स्थानीय श्रृष्टी कार्की अरु सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन रु भन्दै प्रश्न गर्नुहुन्छ । आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको बताउनु भयो ।

‘कोही साना भन्छन्, कोही ठूला भन्छन्, छान्छन् पनि । हाम्रो मूल्य नै छैन । दुःख त गरेको हो । बिहान शीतमा गयो, टिप्यो, दिउँसो यसरी गाँस्यो, औषधि हाल्यो ।’ उहाँ भन्नुहुन्छ, ‘औषधि हालिरहनुपर्छ । औषधिको मूल्य फूल भन्दा महंगो छ । औषधि ४÷५ दिनमा हालि रहनुपर्छ । यो भन्दा २० वर्ष पहिला र अहिलेको मूल्य एउटै हुन्छ त ?’

उहाँले किसानबाट लगेपछि व्यापारीहरुले बढी खाने गरेको बताउनु भयो । पुस्तौँदेखि गरिरहेको भएर आफूहरुले माला बनाउन नछोडेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले गरिरहेको भएर छोड्न नसकेको हो, यो बसिबियाँलो । बुढाबुढी भएपछि त कहीँ जान सकिएन नि त । अलि अलि गरिरहेको मात्रै हो, तर यसको मूल्य चाहीँ छैन ।’

भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाइ बेच्दै आउनुभएकी किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउनु हुन्छ । उहाँले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपैयाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताउनु भयो । उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उहाँको भनाइ छ ।

फूलको व्यापार राम्रो भएन । सधैँ १८ रुपैयाँदेखि २० रुपैयाँसम्म किनेर लैजान्छन् । कृषकलाई अलि घाटा जस्तो भयो । घरमै ठेकेदारले प्रतिगोटा २५ मा लगे अलि राम्रो हुन्थ्यो । फूल खेती गर्न धेरै दुःख छ ।’ उहाँले भन्नुभयो, ‘औषधि हाल्नुपर्छ, औषधि हाल्दा क्यान्सर रोग लाग्ला जस्तो अनुभव आफूलाई नै हुन्छ । दिदिबहिनीलाई यसबाट पैसा आए घरखर्च चलाउन सहज हुन्छ । तिहारमा माल बेचेर आफ्ना दाजुभाईलाई केही किन्न पनि सजिलो हुन्छ । कृषि कार्यक्रममहरुबाट उन्नत जातको फूलहरु हामीलाई दिए हुन्थ्यो भन्ने छ ।’

गुण्डुकै अर्की स्थानीय विनिता केसी गुण्डुका किसान मखमली खेतीमा आवद्ध रहेको र घरको काम गरेर फूलको काम गर्न पनि भ्याउने भएकाले खर्च जुटाउन मखमली फूल लगाउने र माला बनाइ बेच्ने गरिरहेको बताउनु हुन्छ । उहाँले अरु कुरा हेरी फूल खेती गर्न गाह्रो रहेको बताउनु भयो । उहाँले मखमली फूलमा यस वर्ष विगतको तुलनामा बढी पानी परेकाले क्षति पुगेको बताउनु भयो । किसानले गरेअनुसार बजारमूल्य नरहेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दिनरात नभनी फूलको स्याहार गर्नुपर्छ । किसानले गरेअनुसारको बजार मूल्य छैन । नेपालका फूल भन्दा भारतबाट आायत हुने फूलले गर्दा किसानले दुःख गरेअनुसार बजार मूल्य पाउँदैनन् । किसानले दुःख गरेअनुसार नगरपालिका, वडा स्तरबाट पनि राम्रो बीउ वितरण गर्नसके सजिलो हुन्थ्यो ।’

नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् । महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन् । सूर्यविनायकका किसान शहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आउनुभएको छ । पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको बताउनु भयो । गत वर्ष २५ सय माला बनाएकोमा यस वर्ष अहिलेसम्म १ हजार माला मात्रै बनाउनसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलाको तुलनामा माला र फूल लिन आउने मान्छेहरु घटेका छन् । विचौलियाहरुले मान्छेहरु भड्काउँछन् । पहिला व्यापारीहरु आफैँ आएर फूल लिएर जान्थे । अहिले व्यापारीहरुलाई भड्काएर विचौलियाले आउन दिँदैनन् ।’

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन् । विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन् । गुण्डुकी निर्मला बस्नेत पहिला व्यापारीहरु घरघरमा आएर किन्ने गरेपनि अहिले नआएको बताउनु भयो । घरबाटै व्यापारीहरुले ३५ रुपैयाँसम्म तिरेर लैजाने गरेको भएपनि अहिले व्यापारीलाई आउनै नदिने गरेको बताउनु हुन्छ । पहिला १÷२ लाखको माला बेच्ने गरेको भएपनि अहिले व्यापार नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पानी परे पनि फूल यस वर्ष राम्रो छ । फूल ढलेको छैन । अहिलेसम्म व्यापारी आएका छैनन् । माला गाँसेर गोदाम पारेर राखेको छ । एउटा विक्री भएको छैन । बरु सय पत्री फूल लगाउनुपर्ने रहेछ, त्यसबाट चाहीँ व्यापार राम्रो हुने हो । अब सय पत्री फूल दशैँलाई सिद्धिन्छ । साउनदेखि नै सयपत्री फूल जान्छ ।’

फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरुको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको गुनासो उनीहरुको छ ।

विकास बखुन्छें/न्युज एजेन्सी नेपाल