७ पुष २०८२, सोमबार
,
Latest
नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर



अ+ अ-

पाटन, (ललितपुर) । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ ।

महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने र नदी किनारा सफा गर्ने काम शनिबारदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

“शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा हुन्छौँ, बाढीले छरपष्ट रुपमा रहेका प्लास्टिक, कागज र कपडा सङ्कलन गरेर सफा गर्नेछौँ, नदी किनारा सफा नभएसम्म निरन्तर काम गर्छौं”, महर्जनले भन्नुभयो । उहाँले असोज ११ र १२ गतेको बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहरले ललितपुर सहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको बताउनुभयो ।

“नख्खु र  बागमती नदीको किनारालाई प्लास्टिकले छपक्कै छोप्दा असरल्ल देखिएको छ, यसले नगरको सौन्दर्य हराउँदै गएको छ । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेका छौँ”, महानगरप्रमुख महर्जनले भन्नुभयो ।

फोहर सङ्कलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय सङ्घ ललितपुर, सहकारी सङ्घ ललितपुरलगायत विभिन्न सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुने जानकारी दिइएको थियो । साथै महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउँदै सहरी सौन्दर्य कायम राख्नुका साथै वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताउनुभयो । “बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता छ, कसले गर्छ भनेर हेर्ने अहिलेको समय हैन, हामी सबैले मिलेर गर्नुपर्छ । स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्नेछ”, उहाँले भन्नुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गर्नुभयो । “प्रभावित स्थलको निरीक्षणमा जाँदा सहरको सौन्दर्य हराउँदै गएको पायौँ । साथै फोहरले विभिन्न सङ्क्रमण फैलिन सक्ने भएकाले अभियानमार्फत सरसफाइ थालेका हौँ । जिल्ला सुरक्षा समितिमार्फत सुरक्षाकर्मीहरुलाई परिचालित गर्नेछौँ । भएको जनशक्ति र स्रोतको परिचालन गरेर काम गर्ने, अवरुद्ध बाटो खुलाउने, राहत वितरण गर्ने काम भइरहको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ श्रेष्ठले क्षतिको यकीन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गर्नुभयो ।

महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष राजु महर्जनले विभिन्न स्थानमा समूह विभाजन गरेर स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । ललितपुर महानगरका वडा नं ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् । बाढीले बगाएर ल्याएर नख्खु र बागमती नदीको किनारामा थुपारेको फोहर हटाउनका लागि दुई हजारभन्दा बढी स्वयंसेवक खटिने उहाँले जानकारी दिनुभयो । रासस