२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारका लागि फूल तयार



अ+ अ-

घोराही । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।

घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसक्नुभएको छ । उहाँले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताउनुभयो । यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाउनुभयो । व्यावसायिक रूपमा फूलखेती गर्नुभएका उहाँ यही व्यवसायमा सन्तुष्ट हुनुहुन्छ । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भन्नुभयो । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दसैँं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थाल्नुभएको हो ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । उहाँले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गर्नुभएको छ । विगत चार/पाँच वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । २६ वर्षीय उहाँले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गर्नुभएको छ । गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गर्नुभएका उहाँले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसक्नुभएको छ ।

यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उहाँले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्नुभएको छ । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताउनुभयो । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ”, उहाँले भन्नुभयो,“ यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।”

प्लास्टिकजन्य माला विस्थापित

तिहारकोे अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ ।

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएकोे छ ।

जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् ।