२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रगत संकलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो



अ+ अ-

काठमाडौँ । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।

बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताउनु भयो । उहाँले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताउनु भयो । उहाँले प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैँ,तिहार जस्ता चाडपर्वले मानिसहरु घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताउनु भयो ।

उहाँले रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको बताउनु भयो । उहाँले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताउनु भयो । उहाँले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताउनु भयो । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताउनु भयो । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने बताउनु भयो । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट ९पिआरपी० र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, जुन अहिले डेंगुको संक्रमण जुन बढीरहेको त्यसले प्लेटलेटको माग बढेको छ । हामीसँग प्लेटलेट बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरु पर्याप्त मात्रामा छ । नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो माग भएको कारणले गर्दा पिआरपीको लागि हामी स्ट्रगल गरिरहेका छौँ । कसरी पुर्‍याउने र यसको व्यवस्थापनको लागि प्रत्येक दिन ब्लड कलेक्शन हुनुपर्छ । पिआरपी बनाउनको लागि हामीलाई फ्रेस ब्लड चाहिन्छ । रगत कलेक्शन भएको ६ देखि ८ घण्टाभित्र हामलिे पिआरपी छुट्याउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दशैँदेखि तिहारसम्म हाम्रो डोनेशन संख्या घट्छ वर्षौंदेखि । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’

उहाँले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताउनु भयो । उहाँले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गर्नुभयो । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत संकलन गरिरहेको बताउनु भयो ।