३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक: मुख्यमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी प्रशासनलाई थप दक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेस प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कानून कार्यान्वयनसँग संवद्ध धेरैवटा कामको जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेकाले थप व्यावसायिक संगठनका रूपमा स्थापित गर्नकालागि दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले मधेस प्रदेशका विभिन्न प्रहरी ईकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दै आएको जानकारी समेत दिनुभयो ।

उहाँले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गर्नुभयो । उहाँले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधिकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिनुभयो ।

मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले नेपाल प्रहरीले पुर्‍याएको योगदानबारे चर्चा गर्नुभयो । वि।स। २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।