काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एबं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटै डुंगामा छौं भन्ने हेक्का राख्न नेतृत्वलाई आग्रह गर्नु भएको छ । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले एकताको मर्म र भावना विपरीतको खेलले कसैको जीत नहुने उल्लेख गर्नु भएको छ ।
उहाँले लेख्नुभएको छ – हामी एउटै डुंगामा छौं भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहीत छ ।
एकताको मर्म र भावना विपरीतको खेलले कसैलाई जित्न दिँदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोसिस एकता विरुद्धको खेल सावित हुनेछ । त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कनु होस् ।
आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो । तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।











