२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’



अ+ अ-

खजुरा । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ ।

कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।

करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो ।

“बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ”,उहाँले भन्नुभयो, “ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन् । यहाँ पाटेबाघ, चित्तल, बँदेललगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन् । जसले धेरैलाई लोभ्याउने गरेको छ ।”

पूर्वअध्यक्ष थारुले ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना भए पनि लगानीका लागि स्रोत नहुँदा सो कार्य हुन नसकेको बताउनुभयो ।

वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि प्रयाप्त नभएको बताउनुभयो ।

पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“यो ताल संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक आम्दानीको स्रोत पनि बन्थ्यो तर हामीसँग आर्थिक स्रोत नभएकाले ठूलो लगानी गर्न सकेका छैनौँ । यसमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरेमा धेरै सहज हुन्थ्यो । अब त्यसका लागि पहल गर्छौं”, अध्यक्ष शाहीले भन्नुभयो ।