२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार पीडितलाई राहत र पुनर्व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ ।

सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै उहाँले अब उनीहरुलाई राहत दिने र  पुनर्व्यवस्थापनको काममा लाग्नुपर्ने बताउनुभएको हो । शुक्रवार अपरान्ह न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रुपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनु भयो ।

बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई समयमानै सुचारु गर्नुपर्ने पनि बताउनु भयो । राज्य जनताको अभिभावक भएकाले उनीहरुको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘जनताको लागि आफ्नो सबै भन्दा भरपर्दो अभिभावक भनेको राज्यले नै हो । राज्यमा विभिन्न ढंगले प्रतिनिधित्व भएको हुन्छ । एउटा त सरकार हुन्छ । स्थायी सरकारको रुपमा विभिन्न राज्यको अंगहरु छन । उहाँहरुले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ । र, राज्यले पनि, सरकारले पनि गरिराखेको छ । कहिले काँही अप्रत्याशित घटनाहरु हुन्छन् । जसलाई हामी दुर्घटना पनि भन्छौं । यसपालीको यो वर्षापति अप्रत्याशित हो । त्यसैले गर्दा राज्यको तर्फबाट राज्यका सबै अंगहरुले जनतालाई गर्नुपर्ने जुन सेवा, सुविधा हो । त्यो चाहीँ तदारुकताका साथ दिनुपर्छ । अहिले सबैभन्दा ठूलो बाटोमा अवरोध भएको छ । बाटोलाई समयमानै सुचारु गर्नुपर्ने हुन्छ । त्यस्तै गरेर धेरै यो प्रकोपमा पर्नुभएको छ । अव प्रकोपमा परेकाहरुको उद्धार कार्य त भइराखेको छ । अब उहाँहरुलाई राहत दिने र पुर्नव्यवस्थापनको काम हामीले गर्नुपर्ने हुन्छ । जो अब जीवन गुमाउनु भयो, उहाँ त गई नै सक्नुभयो । उहाँको परिवारलाई कसरी पुनस्र्थापित गर्ने र हाम्रो अभिभावक छ भन्ने खालको अनुभुति दिने, त्यो तहमा राज्यको तर्फबाट भुमिका हुनुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।’ 

पूर्वराष्ट्रपति भण्डारीले प्राप्त जनादेशअनुसार राजनीतिक दलहरुले काम गर्नुपर्ने बताउनु भयो । बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमत अनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो । पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरु र कर्मचारीहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्व समय समयमा चुनाव भएपछि जुन निर्वाचित प्रतिनिधिहरु आउँछन् । उनीहरुले आफ्नो कार्यकाल राम्रोगरी काम गर्नुपर्छ । जनताबाट पाएको जुन जनमत हुन्छ, जुन म्यान्डेट प्राप्त भएको हुन्छ । त्यो अनुसार काम गर्नुपर्ने हुन्छ । अहिले सधैंभरी हल्ला बढी हुन्छ हाम्रो देशमा । हल्लाको पछाडि चाहीँ लाग्नु हुँदैन । व्यवस्था आफैँ एउटा यान्त्रिक चिज भयो । त्यसलाई संचालन गर्ने भनेको जनप्रतिनिधिहरु, मानिसहरुले नै हो । लोकसेवा आयोग पास गरेर आएकोबाट बनेको संयन्त्र र जन निर्वाचित प्रतिनिधिहरुको संयन्त्र दुई वटाले काम गरिराखेको हुन्छ हाम्रो देशमा । यो दुई वटा चाहीँ देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्दछ । ’ 

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सबै नेपालीहरुलाई बडा दशैंको शुभकामना पनि व्यक्त गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल