११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिनुभयो । “भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ”, उहाँले भन्नुभयो, “बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।”

भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर रु एक लाख ७५ हजार आम्दानी गरेको बताउनुभयो ।

“बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो रु २५० का दरले अकबरे खुर्सानी बिक्री भएको छ”, उहाँले भन्नुभयो, “परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।” आलेका साथै बेलढुङ्गा कृषक समूहले सात रोपनी, चिनाखेतका दीपक पुन, दिवस घर्तीलगायतका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गर्नुभएको छ ।

बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानीखेती सफल भएपछि व्यावसायिकखेती थालेको बताउनुभयो । १९ जना किसानले रु पाँच/पाँच लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँसराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन् ।

दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानीखेती गर्न सकिन्छ । खुर्सानीखेती भकिम्लीका किसानलाई तरकारीखेती प्रवद्र्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो ।रासस