१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताउनुभएको छ ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू‐राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राख्नुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “लामो समयदेखिका द्वन्द्व, भू–राजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरु विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्काे यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।”

अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नुपरिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको उहाँको भनाई थियो ।

मन्त्री डा राणाले भन्नुभयो “हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरु पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले पनि हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।”

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरु चाल्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भूपरिवेष्टित, साना टापू राष्ट्रहरु लगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशहरुले ध्यान दिनुपर्ने र उनीहरुले यी देशहरुलाई गर्नुपर्ने प्रतिबद्धता बमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

यी समस्याहरु हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसिडी भिजन २०३०’ को मान्यता अनुसार अघि बढ्न एसियाली देशहरुसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसङख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठेरो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।”

नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहीआएको र सन् २०१६ मा एसिडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरु पूरा गर्ने पक्षमा उभिँदै आएको पनि उहाँले बताउनुभयो । भोलिका दिनमा पनि ‘एसिडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसिडीसँगै रहने उहाँले बताउनुभयो ।

साथै मन्त्री डा राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै एकता र सदभाव कायम गर्न सहयोग पुगेको धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो “मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरुबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरुका बीच मित्रताको वातावरणलाइ प्रवर्धन गर्न सहयोग पुर्याएको छ ।”

खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पुर्याउने मन्त्री डा राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सदभाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्यहरु हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।”

मन्त्री डा राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने माध्यमका रुपमा विकास गर्नुपर्ने तथा खेलाडीहरुलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाउनुभयो ।

त्यसैगरी द्वन्द्व प्रभावित क्षेत्रहरूमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव पनि उहाँको थियो ।
१७ असोज, २०८१