१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी
अ अ+ अ-

काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा व्यावसायिक भवन डुबानमा परेका छन्भने विद्यालय भवन र स्वास्थ्य संस्थाहरु पनि ठूलो सङ्ख्यामा प्रभावित भएका छन् । खानेपानी र विद्युत् आपूर्तिमा समस्या देखिएको छ । पाक्ने बेलाको धानबालीमा नदी र खोला पसेर क्षति पुर्‍याएको छ ।

विपद्पछि तीनवटै तहका सरकारको सहयोग र समन्वयमा प्राथमिकता निर्धारण गरी राहत तथा पुन:स्थापनाका कार्यक्रमहरु सुरु गरिएका छन् । घर आवास नै गुमाएका परिवारहरुलाई अस्थायी आवास र खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्री वितरणमा स्थानीय सरकार जुटेका छन् । यसै सन्दर्भमा सिन्धुली जिल्लामा बाढीपहिरो र डुबानले गरेको क्षति, राहत तथा पुन:स्थापना तथा विपद् पछिको व्यवस्थापनको अवस्थाबारे त्यहाँका जनप्रतिनिधिसँग राससले गरेको कुराकानीको सम्पादित अंश:

‘विपद् प्रभावितलाई दसैँअघि नै घर पस्ने वातावरण बनाउँछौँ’: सांसद लेखनाथ दाहाल 

बाढी, पहिरो र डुबानका कारण सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा मात्रै करिब एक हजार ५०० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । विपद्का कारण जिल्लाका यी तीनवटा पालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै, सुनकोशी गड्तिर क्षेत्रमा मात्रै करिब छ सय बिघा खेतीयोग्य जमिनमा सुनकोशी नदी र रोशी खोलाले पुरेर बालीनालीमा क्षति पुर्‍याएको छ । खेत खण्डहरमा परिणत भएका छन् ।

जिल्लामा प्राकृतिक प्रकोपको असर अकल्पनीय र क्षति ठूलो छ । छोटो समयमा आधुनिक र पर्यटकीय सहरतर्फ उन्मुख भइरहेका खुर्कोट, नेपालथोक र मूलकोटमा अर्बौंको लगानीमा खोलिएका होटल र रिसोर्टमा ठूलो क्षति पुगेको छ । फाँटहरु नदी कटानमा परेका छन् । निजी घर, विद्यालय, वडा कार्यालयलगायत संरचना र बस्ती डुबानमा परेर क्षति पुगेको छ । बाढीले घर पुरिएकाले घरभित्रका सामानहरु के–कस्तो अवस्थामा छ भन्ने हालसम्म यकिन नभएकाले पीडितहरु चिन्ता छन् ।

कैयौँ घरका सटर बाढीको बालुवाले छोपेको छ । अहिले प्रभावित क्षेत्रमा १०/१२ वटा ‘ब्याकहो लोडर’ र डोजर लगाएर पुरिएको र बिगे्रभत्केको ठाउँको मर्मतसम्भार गर्ने कार्य भइरहेको छ । जनतालाई दसँै अगाडि घरभित्र पस्ने वातावरण बनाउने लक्ष्यका साथ पुन:निर्माण र उद्धार कार्यलाई तीव्र तुल्याइएको छ । नदी कटान भएको ठाउँमा व्यवस्थित योजनासहित वैकल्पिक मार्ग निर्माण गर्ने र कोशी किनारलाई तटबन्ध गर्ने कार्यलाई प्राथमिकतामा राखेर धमाधम काम सुरु भएको छ ।

नेपालथोकदेखि भकुण्डेसम्म मुख्य रुपमा सडकमा ठूलो समस्या छ । करिब तीन किलोमिटर  सडक पूर्ण रुपमा क्षति भएको छ । त्यस स्थानमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सहज बनाउने प्रयासमा लागेका छौँ । सुनकोशी माथिको सित्खा, खुर्कोट र रोशीका विभिन्न ठाउँमा पक्की पुलसमेत बाढीले बगाएको अवस्था छ ।

बाटो मर्मतका लागि भाडामा लिइएका लोडर, डोजरहरु स्थानीय सरकारबाट इन्धनको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत्को ठूलो समस्या समाधान हुँदै गएको छ । यो समस्या केही दिनभित्रै हल हुनेछ । सबै स्थानीय सडकहरु क्षतिग्रस्त छन् । सडकसँगै विद्युत्का पोलहरु पनि ढलेका छन् । रोशी र कोशीदेखि फिक्कलसम्ममा ५२ वटा विद्यालय भत्केको र डुबानमा परेको प्रारम्भिक विवरण आएको छ । केही स्वास्थ्य चौकीका बाहिरी पर्खालहरु भत्किएका छन् ।

प्रदेश र सङ्घ सरकारबाट राहत र पुन:स्थापनाको प्रतीक्षामा छौँ । उधारोमा काम गरिएको छ । आवश्यक स्वास्थ्यकर्मी परिचालन, इन्धनलगायत सुविधाका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ । सामूहिक भोजन र अत्यावश्यक सामग्रीसहित राहतका प्याकेट पनि वितरण गराइएको छ । तत्कालका लागि दाल चामल, नुनतेल जस्ता आधारभूत खाद्य सामग्री स्थानीय सरकारबाट उपलब्ध गराइएको छ ।

‘सडक खुलाउने कार्य प्राथमिकतामा छ’: राजकुमार बराल, उपाध्यक्ष–फिक्कल गाउँपालिका 

फिक्कलमा नदी कटान र डुबानबाट निकै ठूलो क्षति भएको छ । खेतीयोग्य जमिनमा नदीको भङ्गालो पसेका छन् । केही घर बगाएको छ । पालिकाको सुम्नाङबेँसी, झहरे, सोखुबेँसी, सर्किनीबँेसी, बान्द्रेबेँसीलगायत स्थान बढी प्रभावित भएका छन् । विद्यालय भवन, झोलुङ्गे पुल, स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ ।

उद्धार, राहत र पुन:स्थापनाका कार्यक्रम सुरु भइसकेका छन् । अब व्यवस्थित रुपमा कसरी जाने भनेर सर्वदलीय बैठक बोलाएर त्यसको निर्णयका आधारमा हामी अघि बढ्छौँ । क्षतिका आधारमा राहत दिनेगरी तयारी भइरहेको छ । डोजरहरु प्रयोग गरेर बाटो खोल्ने काम भइरहेको छ । हामी सडक खुलाउन लागिरहेका छौँ ।

‘खुर्कोटमा ३५ घर पूर्ण रुपमा क्षति भएका छन्’: ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष–गोलन्जोर गाउँपालिकाका

पालिकाको खुर्कोट क्षेत्रमा मात्र करिब ३५ घरमा क्षति हुँदा ६२ परिवार पूर्ण रुपमा प्रभावित भएका छन् । त्यो क्षेत्रमा ४० वटाको हाराहारी पसलमा क्षति पुगेको छ । के–कति धनजनको क्षति भएको भन्ने विवरण सङ्कलन हुँदैछ । त्यस्तै, बलेनी क्षेत्रमा ११ घर डुबाएको छ । मुर्की, च्याकुटारबेँसी, र बलेनीका तीनवटा प्राथमिक विद्यालय डुबानमा परेका छन् । पालिकाको छ नम्बर वडा कार्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हैबार, हर्देनी, कुखुरेटारमा ठूलो पहिरोका साथै त्यहाँका झोलुङ्गे पुलमा क्षति पुगेको छ । खुर्कोटका दुईवटा र दिङदिङको माथिल्लो क्षेत्रको पुल बगेको छ । मध्यपहाडी राजमार्ग पुरैजसो पुन: निर्माण गर्नुपर्ने भएको छ । सबै बिग्रिएको छ । त्यसमा करोडौँ खर्च हुने देखिएको छ । सिन्धुलीमा सुनकोशीपछि गोलन्जोर गाउँपालिकामा बढी क्षति देखिएको छ ।

गोलन्जोर गाउँपालिका क्षेत्रको मध्यपहाडी राजमार्गमा भएको अवरोध हटाउन दुईवटा डोजर प्रयोज भइरहेका छन् । मङ्गलबार अक्करेभीर क्षेत्रको अवरोध हटाइएको छ । नेपालथोकबाट घुर्मीसम्म बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका धेरै ठाउँमा सडक भत्किएको, भासिएको, माथिबाट पहिरो खसेर ठूलो क्षति भएको छ । सडक भएको ठाउँमा नदीको भङ्गालो र खोलो पसेको छ ।

गोलन्जोरको मात्र करिब ३० बिघा धान खेतमा क्षति पुगेको छ । खुर्कोट, दिङदिङ्, हैबार, मुर्की, कुखुरेटारलगायत क्षेत्र बढी प्रभावित भएका छन् । रासस